समाज


सीता उत्पत्ति दिवसमा राष्ट्रपतिको शुभकामना सन्देश: लैंगिक विभेद अन्त्य होस्

सीता उत्पत्ति दिवसमा राष्ट्रपतिको शुभकामना सन्देश: लैंगिक विभेद अन्त्य होस्

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ६:१९,

राष्ट्रपति विद्यादेवी भण्डारीले आज परेको सीता उत्पत्ति दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन्।

नेपालका राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसमा राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले निषेधाज्ञाको पूर्णपालना गर्दै आजको विशेष दिन मनाउन आग्रह गर्दै यो पवित्र दिवसले सबै प्रकारका लैंगिक, सामाजिक र सांस्कृतिक विभेद अन्त्य गरी प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन्।

सीता भगवान् रामकी धर्मपत्नी हुन्। उनका बुबा राजर्षि जनक हुन्। अत्युच्च पौराणिक महत्वकी सीतालाई नेपालमा जन्मिएकी अत्यन्त पतिव्रता नारीको रुपमा सम्मान र पूजा गर्ने चलन छ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन माता सीताको रामजानकी मन्दिरमा पूजा अर्चना गरी सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ।

हिन्दू धर्मअनुसार सत्य, त्रेता, द्वापर र कलि गरी चार युगमध्ये त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको प्रतिष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन रामायणण र पुराणहरुमा गरिएको छ।

राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘माता सीताको प्रादुर्भाव तथा त्यसपछिका घटनाक्रमसँग सम्बद्ध वर्णन हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचायक हो। कुनै पनि मुलुकको वर्तमान समयलाई त्यहाँको सभ्यता र इतिहासले प्रभावित गर्छ।’

धेरै लामो समय व्यतित भएपछि हिजोको इतिहासका कतिपय पक्ष आजको परम्परा वा संस्कृतिमा रुपान्तरण हुने भन्दै राष्ट्रपति भण्डारीले सदैव गतिशील नेपाली सभ्यताको उद्भव र विकासमा विविधतापूर्ण संस्कृति र परम्पराहरुको योगदान गरेको वास्तविकतालाई सीता जयन्तीले जीवन्त रुपमा स्मरण गराउने उल्लेख गरेकी छिन्।

उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘इतिहासको लामो कालखण्डमा श्रुतिपरम्पराबाट हाम्रो सभ्यताको वर्णन एकपछि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आयो। लेख्य परम्पराका आदिकृति मानिने प्राचीन ग्रन्थमा समेत सीता उत्पत्तिका कथाहरु पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रुपमा रहिआएको छ।

यस्तो छ सन्देश वक्तव्य :

seeta day1

seeta day2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad