नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको सवारी दुर्घटनामा परी निधन भएकोमा नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्तिमार्फत शोक व्यक्त गरेका हुन्।
कामको सिलसिलमा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा.१६च २२३५ नम्बरको जीप सप्तरीको कञ्चनरुप गाउँपालिकामा शनिबार दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो। रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी बान्सिदा पत्रकार अधिकारीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
लामो समयदेखि रुपन्देहीमा पत्रकारिता गर्दै आएका अधिकारीले रेडियो नमस्तेको स्थापना कालदेखि नै स्टेशन प्रमुखको रुपमा काम गरेका थिए। पछिल्लो समय आफ्नै सक्रियतामा ई–लगन न्यूज डटकम सञ्चालन गर्र्दै आउनु भएका पत्रकार अधिकारी रेडियो नेपालको स्थानीय सम्वाददाता थिए।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासंघले जनाएको छ।

प्रतिक्रिया