ad ad

समाज


सुदूरपश्चिममा कोरोना संक्रमितको बेहाल : न अस्पतालमा बेड खाली, न अक्सिजन

सुदूरपश्चिममा कोरोना संक्रमितको बेहाल : न अस्पतालमा बेड खाली, न अक्सिजन

गोकुल जोशी
बैशाख ३०, २०७८ बिहिबार १५:१०,

सुदूरपश्चिममा कोरोना संक्रमणका बिरामीले अस्पताल भरिभराउ भएका छन्।

कोरोना संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनिरहेका कञ्चनपुर र कैलालीमा संक्रमण दिनहुँ बढ्दै जाँदा यहाँका अस्पताल बिरामीले खचाखच भरिएका हुन्।

कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसन भरिएपछि संक्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ।

अस्पतालका आइसोलेसनमा बिरामी राख्ने ठाउँ नभएपछि संक्रमितलाई खुला आँगन, ग्यालरी तथा भुइँमा राखेर उपचार गर्नु पर्ने अवस्था सिर्जना भएको छ।

महेन्द्रनगरस्थित महाकाली अस्पताल संक्रमितले भरिभराउ भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताए। अस्पतालको आइसोलेसन संक्रमितले भरिए पछि बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार गर्नु परेको उनले बताए।

‘आकस्मिक कक्ष बाहिर टिन सर्टमा अक्सिजन सहितका १५ बेड राखिएका छन्। त्यहाँ बिरामी बढि भएकाले एउटै बेडमा दुई/दुई जनालाई पनि राख्नु परेको छ।’ उनले नेपालखबरसँग भने, ‘भित्र अक्सिजन नभएकाले आकस्मिक कक्ष बाहिर क्षेत्रमा एउटै बेडमा दुई÷दुई जनालाई राखेर उपचार गर्नु परेको छ।’

उनका अनुसार हाल अस्पतालमा ६५ जना कोरोना संक्रमित उपचाररत रहेका छन्।

उता सेती प्रादेशिक अस्पताल पनि बिरामीले अस्पताल भरिए पछि बेड अभाव हुँदा आँगन, ग्यालरी, सिँढीमा राखेर उपचार गर्नु पर्ने अवस्था आएको छ।

‘कोभिड अस्पतालमा ६७ जना भर्ना भएका छन्। त्यहाँ ६० जनाको क्षमता हो। इमर्जेन्सीमा भर्ना भएकाहरुको कोरोना लक्षण छन्’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने, ‘स्वाब संकलन भएको छ तर रिपोर्ट नआएकाले कोभिड अस्पतालमा राख्न सकिएको छैन। बेड अभावमा बिरामीलाई अस्पतालको आँगन, सिँढीमा राख्नुपर्ने बाध्यता छ।’

यस्तै, कैलालीको पूर्व–दक्षिणी भेगको ठूलो टीकापुर अस्पतालमा पनि बेड अभावमा बिरामीलाई बरन्डामा राखिएको अस्पताल प्रशासनले जनाएको छ।

seti-hospital-covid4.jpg

अक्सिजनको हाहाकार
कोरोना संक्रमणका गम्भीर बिरामी बढ्दै गएपछि सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ। अक्सिजन नपाएर संक्रमितले तड्पिएर ज्यान गुमाउने स्थित सिर्जना भएको चिकित्सकहरुले बताएका छन्।

प्रदेशभर दैनिक ५०० सिलिन्डर अक्सिजन आवश्यक पर्छ। तर आधा पनि सिलिन्डर पाइएको छैन। धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ।

दैनिक १५० देखि १८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्र ग्यास उद्योग प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको बताए।

कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा भर्ना भएका संक्रमितका लागि अक्सिजन जोहो गर्न धौधौ परेको अस्पताल प्रशासनले जनाएको छ। अक्सिजनको चरम अभाव हुँदा उपचाररत संक्रमितको ज्यान जोखिममा परेको महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.गोविन्द रोकायाले बताए।

‘अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामी दिनहुँ बढ्दै छन्। तर माग अनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन्,’ उनले भने, ‘जसले गर्दा संक्रमितको ज्यान जोखिममा परेको छ।’

उनका अनुसार अस्पताल भर्ना भएका बिरामीमध्ये ९८ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्ने गरेको छ।
सेती प्रादेशिक अस्पतालमा पनि अक्सिजन अपुग रहेको र अक्सिजन आएका बेला संक्रमितका आफन्तले लुछाचुँडी गर्ने गरेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

‘अस्पतालको अक्सिजन प्लान्टको क्षमता दैनिक ७५ सिलिन्डर हो। तर अहिले २४ घण्टामा ५५ सिलिन्डर मात्रै उत्पादन हुने गरेको छ,’ उनले भने, ‘हाल हामीलाई दैनिक एक सय ४० सिलिन्डर अक्सिजन आवश्यक पर्छ, तर आपूर्ति नहुँदा साह्रै गाह्रो भएको छ।’

seti-hospital-covid3.jpg

अक्सिजन अभावले आइसोलेसन सञ्चालनमा आएन
कोरोना संक्रमितका लागि अस्पतालमा बेड अभाव रहेको अवस्थामा कैलालीको गेटा मेडिकल कलेजको भवनमा बनाइएको आइसोलेसन सञ्चालनमा आउन सकेको छैन।

संघीय सरकारको लगानीमा तयार पारिएको आइसोलेसन अक्सिजनको अभावमा सञ्चालन आउन नसकेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताए।

‘अहिले ४० शैय्याको आइसोलेसन तयार भएको छ। स्वास्थ्यकर्मी पनि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाले खटाउने भएको छ’ उनले भने, ‘तर अक्सिजनको अभावमा सञ्चालन आउन सकेको छैन। अक्सिजन जडान भयो भने बिरामी भर्ना गरेर उपचार गर्न सकिन्छ।’

गेटा मेडिकल कलेजमा दुई हजार क्षमताको आइसोलेसन बनाउने भनिएको थियो। आइसोलेसन सञ्चालनमा ल्याउन सके बेड अभावमा विभिन्न अस्पतालको बाहिर र ग्यालरीमा उपचार गरिरहेका बिरामीलाई राहत मिल्ने छ। 

याे पनि :

भारतबाट यसरी भित्रिरहेको छ कोरोना

भारतबाट फर्किनेलाई व्यवस्थापन नगर्दा कोरोनाको ‘हटस्पट’ बन्दै कैलाली-कञ्चनपुर

सुदूरपश्चिमका अस्पतालमा अक्सिजनको हाहाकार, संक्रमितले तड्पिएर गुमाउँदैछन् ज्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .