समाज


नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो : डा. चन्द्रमणि अधिकारी

नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो : डा. चन्द्रमणि अधिकारी

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १४:२६,

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन्।

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डा. अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरेका हुन्। सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेबार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताएका हुन्।

उनले भने, ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ। यसको उदाहरण मेरो अस्पतालको दिन्छु। हामीलाई नेपाल सरकारले तिमी मुटुको विरामी हेरिदेउ र मुटुका विरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेउ। म अहिले पनि लिन सक्छु। तर अर्को हस्पिटलले कोभिड मात्रै भएका विरामीलाई जिम्मा लिईदिओस्? तर कसैले पनि जिम्मा लिन सक्क्तैन अहिले। किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ। हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौं। स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपर्थ्याे। बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन। म दुःखका साथ भन्छु। विर अस्पतालको ५ सय शय्याको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाजमर्नुको अवस्था हो। हामी के हेरेर बसिरहेका छौं? हाम्रा विरामी इमरजेन्सी बाहिर बसिरहेका छन्। ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने। यसको जिम्मा कस्ले लिने? यो मिटिङ १ वर्ष अगाडि सुरु गर्नु पर्थ्याे।’

उनले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए। बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उनले ७० वर्ष भन्दा माथिका लाई भेन्टीलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए। उनले विर अस्पताल एक वर्षसम्म किन सञ्चालन गर्न सकिएन भनी प्रश्न गरे।

उनले भने, ‘५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौं। किन चलाउन सकिरहेका छैनौं? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौं? कसैले एन्सर गर्न सक्छ यो? खै प्लानिङ?’

सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आईसीयू), हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) विरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका विरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताए।

उनले भने, ‘हाम्रो अस्पताल कोभिड अस्पताल थिएन। अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो। अहिले थप गरेर २१ वटा आईसीयू बनाएका छौं। अब हाम्रोमा कुनै पनि आईसीयू छैन। इरजेन्सीलाई पनि फुल कोभिड बनाएका छौं। हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमरजेन्सी बनाउनुपरेको छ। अहिले मलाई एउटा फोन आईरहेको थियो एकजना मुटुसम्बन्धी रोग लागेको विरामीलाई लिईदिनुहोस्। हामीले लिन सक्ने अवस्थामा छैनौं। ९० वटा सिलिण्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले १ सय ८५ सिलिण्डर प्रतिदिन प्रयोग गरिरहेका छौं।’

उनले सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेपनि ढिलै भएपनि महानगरले पहल गरेकोमा धन्यवाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .