ad ad

समाज


निषेधाज्ञाको मौका छोप्दै बढी भाडा असुल्ने तीन जना गोंगबु बसपार्कबाट पक्राउ

निषेधाज्ञाको मौका छोप्दै बढी भाडा असुल्ने तीन जना गोंगबु बसपार्कबाट पक्राउ

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १०:११,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तीन जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट नियन्त्रणमा लिएको हो।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म १२ सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीन जनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

पोखरा जाने यात्रुसँग ३५ सय र बुटवल जाने यात्रुबाट जनही ६ हजार रुपैयाँका दरले भाडा लिने क्रममा पक्राउ गरिएको एसएसपी भट्टराईले बताए।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बसमार्फत बुटवल जान बढी भाडा असुलेको हो।

पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा ३३ घर भई काठमाडौं बस्ने ३२ वर्षीय बन्दराज पराजुली, रतुवामाई ९ (मोरङ्ग घर भई नेपालटार बस्ने २९ वर्षीय नबीन पौडेल र बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे) ७ का २९ वर्षीय रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुनसक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायातसम्बन्धी समस्या अनुगमनको लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ।

टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने र बढी भाडा लिन खोज्नेलाई निगरानीमा राखी नियन्त्रण गर्ने गरेको छ।

यात्रुसँग बढी भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी ३० वर्षीय मिलन सारुलाई महाशाखाले हिजो पक्राउ गरेको थियो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .