समाज


सर्लाहीको बलरामा कोरोनासँग मिल्दो लक्षणका कारण एकै गाउँका ४ जनाको मृत्यु, मेयर भन्छन्- म आफैँ बिरामी छु

सर्लाहीको बलरामा कोरोनासँग मिल्दो लक्षणका कारण एकै गाउँका ४ जनाको मृत्यु, मेयर भन्छन्- म आफैँ बिरामी छु

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ६:२०,

सर्लाहीको बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण दुई दिनको फरकमा चार जनाको मृत्यु भएको छ।

भारतसँग सीमा जोडिएको बलरा नगरपालिका- ६ मिर्जापुरमा उच्च ज्वरोसहितको स्वास्थ्य समस्याका कारण गएको आइतबार तीन र सोमबार एकसहित चार जनाको मृत्यु भएको हो।

ज्यान गुमाउनेमा दुई जना ८० वर्षमाथिका वृद्ध छन्। बाँकी दुई जना भने ४० वर्ष आसपासका पुरुष रहेका बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले जानकारी दिए। मृत्यु भएका सबैको आफन्तले नै सद्गद् गरिसकेका छन्। उनीहरुमा कोरोना संक्रमण थियो, थिएन परीक्षण गर्न नपाइएको मेयर सिंहको भनाई छ।

‘अहिले पनि गाउँमा ज्वरो आएका सयौँ बिरामी छन्,’ मेयर सिंहले बुधबार बिहान नेपालखबरसँग भने, ‘हामीले नगरपालिकाको स्वास्थ्यकर्मीको टोली घरघरमा खटाएका छौँ, तर ज्वरो आए पनि मानिसहरु स्वास्थ्य परीक्षण गर्न मानिरहेका छैनन्। यहाँ अवस्था बिकराल बन्ने सम्भावना छ।’

परीक्षण गर्दा कोरोना पुष्टि भए नगरपालिकाले क्वारेन्टाइनमा राख्ने डरको कारण मानिसहरु बिरामी भए पनि घरभित्रै बस्ने गरेका मेयर सिंह बताउँछन्। ‘कतिपय गाउँबाट हामीलाई गाउँले सबै बिरामी भएको खबर आउँछ। स्वास्थ्यकर्मीको टोली घरघरमा पुग्दा कोही घर बाहिर निस्कँदैनन्,’ मेयर सिंहले भने।

ज्वरोको कारण चार जनाको मृत्यु भएपछि नगरपालिकाले गएको आइतबारदेखि नगरका केही ठाउँका शंकास्पद बिरामीको स्वाब परीक्षण गरेको थियो। ‘आइतबार ३९ जनाको स्वाब परीक्षण गर्दा १० जनाको पोजेटिभ रिपोर्ट आयो,’ मेयर सिंहले भने, ‘सोमबार २८ जनाको परीक्षण गर्दा ८ जना र मंगलबार पाँच जनाको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखियो। यसले पनि बलरामा कोरोना संक्रमणको अवस्था भयाबह रुपमा बढिरहेको छ भन्ने देखिन्छ।’

आज (बुधबार) भने बिहानैदेखि वर्षा भइरहेकाले शंकास्पद बिरामीको पनि परीक्षण गर्ने अवस्था नरहेको उनले बताए। ‘म आफू पनि बिरामी छु। उपचारको लागि जनकपुर जाँदै छु,’ मेयर सिंहले भने, ‘अहिले म गाडीमा छु। गाडिबाटै तपाईंलाई यी सबै कुरा भनिरहेको छु।’

सबै शंकास्पद बिरामीले परीक्षण गर्न नमान्ने र नगरपालिकाको क्षमता पनि सबैको परीक्षण र उपचार गर्न सक्ने नभएको गुनासो उनले गरे। ‘बलराको जनसंख्या झण्डै ७० हजार छ,’ मेयर सिंहले भने, ‘सबैको उपचार गर्ने औकात हामीसँग छैन। हाम्रो बजेट नै थोरै छ। केन्द्र र प्रदेश सरकारले कुनै पनि सहयोग गरेका छैनन्। अनि हामीले मात्रै कतिको परीक्षण र उपचार गर्नु?’

केन्द्र सरकारले चालु आर्थिक वर्षको लागि १३ करोड ३८ लाख रुपैयाँ मात्र बजेट पठाएको गुनासो उनले गरे। ‘यति बजेटबाट म बिरामीको परीक्षण र उपचार गरौँ कि विकास निर्माणका काम गरौँ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘केन्द्र सरकारले नै हामीलाई सौतेनी व्यवहार गरिरहेको छ।’

बलरा भारतसँग सीमा जोडिएको छिमेकी जिल्ला रौतहट सदरमुकाम गौर नजिकको नगरपालिका हो। यहाँका नागरिक अहिले पनि दैनिक उपभोग्य बस्तु किनमेलका लागि नजिकै रहेको भारतीय बजार जाने गरेका छन्।

‘हामी सर्लाही सदरमुकाम मलंगवाबाट ३४ किमी टाढा छौँ। नजिकै नेपाली बजार छैन। एक किलो नुन/तेल किन्न पनि भारततिरै जानुपर्छ,’ मेयर सिंहले भने, ‘हामी चाहेर पनि आफ्ना नागरिकलाई उता र उताका नागरिकलाई यता आउनबाट रोक्न सक्ने अवस्थामा छैनौँ। अहिले पनि यहाँका मानिस उता र उताका मानिस यता आउने/जाने गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad