समाज


फूलचोकका नेवार समुदाय संस्कृति संरक्षणमा सक्रिय, युवालाई हस्तान्तरण गर्दै पराम्परागत बाजा

फूलचोकका नेवार समुदाय संस्कृति संरक्षणमा सक्रिय, युवालाई हस्तान्तरण गर्दै पराम्परागत बाजा

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ११:३,

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, फूलचोक टोलका नेवार समुदाय आफ्नो संस्कृति संरक्षणमा सक्रिय भएको छ।

फूलचोकमा बलामी थरका नेवार समुदायको मात्र बसोबास छ। आफ्ना परम्परा, संस्कृति तथा बाजागाजा आफ्नो नयाँ पुस्ताले नबिर्सिउन् भनेर बलामी समुदायले सामूहिक प्रशिक्षणै सञ्चालन गरेको हो।

स्थानीय सांस्कृतिक तथा धार्मिक गुठी, नाच, जात्रा आदिमा अनिवार्य बजाउनुपर्ने विभिन्न बाजा लोप हुन थालेपछि वाद्यवादन सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय युवालाई प्रशिक्षण दिइएको हो।

pharping2

स्थानीय महाचुनी मनकामना गुठीको विशेष पहलमा महाचुनी मनकामना सांस्कृतिक बाजा प्रशिक्षण समितिले १६ प्रशिक्षकद्वारा स्थानीय ८४ जना युवा युवतीलाई खिँ बाजा, राग गायन, बाँसुरी, हारमोनियम, तवला र धिमे गरी ६ विधामा प्रशिक्षण दिएको हो।

तीन महिनाभन्दा बढी समयदेखि सञ्चालित प्रशिक्षण कोरोना महामारीका कारण अहिलेलाई बिट मार्न बाध्य भइएको समितिका संयोजक राजन बलामीले बताए। अवस्था सामान्य भएपछि प्रशिक्षणलाई पुनः निरन्तरता दिइने उनले बताए।

pharping3

स्थानीयका अनुसार दक्षिणकाली नगरपालिकाकै मौलिक पहिचान बोकेको फूलचोक टोलका बासिन्दाले हरेक वर्ष गाईजात्रा, रोपाइँ जात्रा, बसुन्धरा जात्रा, कृष्ण जात्रा, बज्रयोगिनी जात्रा, मारुनी नृत्य, कार्तिक नाचलगायत पर्वमा स्थानीय फर्पिङ सहरमा प्रदर्शन र परिक्रमा गर्ने गरेका छन्। साथै हरिशंकर जात्रा र हरेक १२ वर्षमा मात्र देखाइने थाः प्याखँमा पनि यस टोलबाट सहभागिता जनाउने गरिएको स्थानीय बताउँछन्।

बलामी समुदायको प्राचीन गुठी महाचुनी मनकामना गुठीद्वारा त्यहाँ महाचुनी गुठी, मनकामना गुठी, ससुपुजा गुठी, चौकोटदेवी गुठीलगायत गुठी सञ्चालित छन्।

यस्ता प्राचीन, धार्मिक, सांस्कृतिक कुराप्रति युवा पुस्तामा खासै रुचि नदेखिएकाले उनीहरूलाई आकर्षित गर्ने अभियान थालिएको गुठीका नायः श्यामबहादुर बलामीले बताए।

pharping4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .