चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ।
चीनले दिने ती सिलिन्डर नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालखबरसँग बताइन्।
'स्वास्थ्य मन्त्रालयले अनुरोध गरे अनुसार हामीले चीन सरकारले दिने अक्सिजन सिलिन्डर ल्याउन समन्वय गरिरहेका छौं,' लम्सालले भनिन्, 'छिट्टै नै ती सामाग्री नेपाल आउनेछन्।'
यसै साता चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका थिए।
परराष्ट्रमन्त्रीहरुको एक भिडियो कन्फ्रेन्समा उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।
चीनले दिने अक्सिजन सिलिन्डर हवाईमार्ग र स्थलमार्ग दुवै प्रयोग गरेर नेपाल ल्याउने पहल अधिकारीहरुले सुरु गरेका छन्।
यो पनि :
नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा
प्रतिक्रिया