तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
दुर्घटनामा १५ घाइते भएका छन्। दमौलीबाट भिरकोटतर्फ जाँदै गरेको ग१ज ७६०० नम्बरको जीप सडकबाट ७० मिटर तल खस्दा भएको दुर्घटनामा परी व्यास नगरपालिका–५ बस्ने २५ वर्षीया मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा परी ऋषिङ गाउँपालिका–२ बस्ने २६ वर्षीया रुपा थापा, निजका छोरा दुई वर्षीय सलिम थापा, सोही ठाउँ बस्ने २६ वर्षीया गीतामाया थापा, निजका छोरा आठ वर्षीय डिप्चन थापा, छोरी पाँच वर्षीया अस्मी थापा, बहिनी २० वर्षीया करिश्मा थापा घाइते भएका छन्।
त्यस्तै ऋषिङ गाउँपालिका–२ कै ४५ वर्षीय टीकाराम थापा, व्यास नगरपालिका–५ की पाँच वर्षीया अनामिका थापा, ऋषिङ गाउँपालिका–२ की बलिसरा थापा, व्यास नगरपालिका–७ की २३ वर्षीया दिलु थापा, निजकी छोरी दुई वर्षीया सुहानी थापा, ऋषिङ गाउँपालिका–२ का २८ वर्षीय लालबहादुर नेपाली र जीप चालक २९ वर्षीय गुजलसिं महारी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये रुपा थापा, सलिम थापा र अनामीका थापालाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ। (रासस)

प्रतिक्रिया