ad ad

समाज


आजको मौसम : कतै चट्याङ, कतै भारी वर्षाको सम्भावना

आजको मौसम : कतै चट्याङ, कतै भारी वर्षाको सम्भावना

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार २:७,

आज (शुक्रबार) देशभर बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने केही स्थानमा वर्षासमेत भइरहेको छ।

आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहितको हल्कादेखि मध्यमसम्म वर्षा हुने र एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

यसैगरी राति पनि वर्षा जारी रहने र पूर्वी तथा मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन्।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली रहेको र उत्तरतर्फ डाँडापाखामा हल्का वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। अहिले यो बिस्तारै कम हुँदै गएको छ तर पुनः अपराह्नपछि मौसम बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने उनको भनाइ छ।

‘तर काठमाडौं उपत्यकामा आज भारी वर्षाको सम्भावना छैन,’ नेपालखबरसँग उनले भनिन्।

उनका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा औसत स्थानभन्दा उत्तरतर्फ रहको छ भने बाँकी भू-भागमा औसत स्थानमा छ।
यसैकारण आज पूर्वी र मध्य क्षेत्रमा पूर्णतया बदली रहनेछ।

मौसमविद् नगरकोटीका अनुसार मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर(प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

माैसम महाशाखाले जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण ३१ गते शुक्रबार
दिउँसो : देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरी सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण ३२ गते शनिबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्वी र मध्यका भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .