समाज


साउथ एसियन युनिभर्सिटीले भन्यो : होस्टल छाड, चिन्तामा नेपाली विद्यार्थी

साउथ एसियन युनिभर्सिटीले भन्यो : होस्टल छाड, चिन्तामा नेपाली विद्यार्थी

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १:४,

कोरोना महामारी भयावह बनेको भन्दै भारतको दिल्लीस्थित साउथ एसियन युनिभर्सिटी (साउ) ले आवासीय विद्यार्थीलाई होस्टल छाड्न सूचना जारी गरेको छ।

साउ प्रशासनले सोमबार सूचना प्रकाशन गरी जारी गर्दै दिल्लीको चाणक्यपुरीस्थित अकबर भवनमा बस्ने गरेका सबै विद्यार्थीहरुलाई मे १० भित्र त्यहाँबाट जान भनेको हो।

सूचनामा भनिएको छ, ‘उनीहरूकै सुरक्षाका लागि सबै विद्यार्थी मे १० भित्र अकबर भवनस्थित होस्टल कोठा र परिसर खाली गरेर आआफ्ना घर वा बस्ने ठाउँमा जानुपर्नेछ।’

कोरोना महामारीका कारण दिल्ली गम्भीर स्वास्थ्य संकटमा परेको र अस्पतालले बिरामीको चाप थेग्न नसक्ने देखिएकाले विद्यार्थीलाई होस्टल खाली गर्न भनिएको साउको दाबी छ।

साउको सूचनामा अघि भनिएको छ, ‘सञ्चारमाध्यम, राज्य सरकार एवं अस्पतालहरूद्वारा जारी प्रेस विज्ञप्तिहरूले अक्सिजन, बेड र औषधिको चरम संकट देखाएको र साउका केही विद्यार्थीले पनि त्यस्तै परिस्थितिको सामना गर्नुपरेकाले होस्टल खाली गर्ने निर्णयमा पुगेका हौं।’

साउमा नेपालसहित सार्क मुलुकका ७ सयभन्दा बढी विद्यार्थी पढिरहेका छन्। तीमध्ये ४० जना नेपाली छन्। यस्तै होस्टलमा बस्ने गरेका २ सयभन्दा बढी विद्यार्थीमध्ये नेपालका २० जना छन्।

साउले एक्कासि होस्टल छाड्न भनेपछि यो महामारीका बीच कसरी घर फर्किने भन्ने चिन्तामा नेपाली विद्यार्थी परेका छन्।

उनीहरूका अनुसार हवाई टिकट पाउन गाह्रो छ भने गाडीमा यात्रा गर्दा कोरोना संक्रमण सर्ने ठूलो जोखिम छ।

२००५ नोभेम्बरमा बंगलादेशमा भएको १३औं सार्क शिखर सम्मेलनले विश्वस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्न भनेर गरेको निर्णयबमोजिम दक्षिण एसियाली विश्वविद्यालय (साउ) स्थापना गरिएको हो। २०१० अगस्टदेखि दिल्लीकै जहावरलाल नेहरु विश्वविद्यालय परिसरबाट औपचारिक रूपमा सुरु गरिएको यसको पठनपाठन २०११ जुलाईदेखि भने अकबर भवनमा सारिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad