खोप लगाउन सुरु भएपछि मानिसहरु कोरोनाको प्रभाव घट्छ भन्नेमा ढुक्क थिए किनभने विज्ञहरुले खोपको विकास र प्रयोगसँगै यसले कोरोनाको असरलाई कम गर्ने बताएका थिए।
तर त्यसको ठिक विपरित भारतमा कोरोनाको भयानक प्रभाव देखिन थालिएको छ। भारतमा अहिले दैनिक ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।
कोरोनाले भयावह अवस्था निम्तिएको भारतमा गएको २४ घण्टामा पनि ३ लाख ४६ हजार ७८६ नयाँ कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोही अवधिमा भारतमा २६ सय २४ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको छ भने कोरोनाले यहाँ १ लाख ८९ हजार ५४४ को ज्यान गइसकेको छ।
(भिडिओ)
विज्ञहरुका अनुसार कोरोना भाइरसको डबल म्युटेन्ट र ट्रिपल म्युटेन्टजस्ता नयाँ कोरोनाका प्रकारका कारण यहाँ तीव्र गतिमा कोरोना संक्रमित थपिरहेका हुन्।
अक्सिजन अभाव
यसरी दैनिक धेरै मात्रामा कोरोना संक्रमितहरु थपिँदा भारतभर अक्सिजनको अभाव देखिन थालेको छ।
कोरोनाबाट संक्रमित हुनेहरुमा सास फेर्न गाह्रो हुने समस्या भएपछि हजारौं दैनिक अस्पताल भर्ना हुन थालेका हुन्। धेरैलाई एकैपटक अक्सिजन चाहिएपछि अक्सिजनको अभाव भएको हो।
अहिले अक्सिजन चाहिने संक्रमित धेरै भएपछि अस्पतालका शय्याहरु भरिएका छन्।
भारतका विभिन्न अस्पताल बाहिरै बिरामीको उपचार भइरहेको छ। उपचार नपाएरै संक्रमित मानिसहरु अस्पताल बाहिरै प्राण त्याग्न बाध्य समेत भएका छन्।
कोलकतास्थित सघन उपचार विशेषज्ञ डा. शाश्वती सिंहाले आपत्कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भएको बताएकी छिन्।
‘आफ्नो २० वर्षको कार्यकालमा मैले यस्तो अवस्था अहिलेसम्म देखेकी थिइनँ’ उनी भन्छिन्।
उनीसँगै भारतका स्वास्थ्य विज्ञले कोरोना भाइरसलाई सामान्य नठान्न आग्रह गरेका छन्। यतिबेला कोरोनाबाट बच्न भन्दै भारतका विभिन्न स्थानमा लकडाउन गरिएको छ।
प्रतिक्रिया