समाज


जेठ-असारमा कोरोना संक्रमित दैनिक ५ हजार नाघ्ने सरकारी आकलन

जेठ-असारमा कोरोना संक्रमित दैनिक ५ हजार नाघ्ने सरकारी आकलन

यज्ञराज जोशी
चैत २५, २०७७ बुधबार १२:५७,

सरकारले नेपालमा जेठ–असारमा कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्ने आकलन गरेको छ। त्यसबेला दैनिक ५ हजारभन्दा बढी संक्रमित हुनसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलेसोमबार संसदमा सम्बोधन गर्दै जेठ र असारमा संक्रमण उच्च विन्दुमा पुग्ने बताएका थिए।

मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्णप्रसाद पौडेलले जेठ–असारसम्म संक्रमित संख्या दैनिक ५ हजार पुग्ने अनुमान गरिएको बताए।

‘त्यसबेलासम्म दैनिक ५ हजारसम्म केस पुग्नसक्छ भन्ने आकलन छ,’ डा. पौडेलले भने, ‘यो एउटा एस्टिमेट हो। त्यसभन्दा बढी पनि हुनसक्छ। संक्रमित अहिलेकै ट्रेन्डमा गयो भने एकदमै बढ्नसक्ने देखिन्छ।’

उनले बेलायतमा देखिएको नयाँ भेरियन्ट ७० प्रतिशत छिटो फैलिने र उक्त भेरियन्ट नेपालमा पनि देखिएकाले संक्रमण एकदमै बढ्नसक्ने जोखिम औँल्याए।

‘नेपालमा पनि ¥यान्डम स्याम्पलिङ टेस्ट गर्दा यूके भेरियन्टसँग मिल्दोजुल्दो प्रकारका बढी संक्रमित भेटिएका छन्,’ उनले भने, ‘यसले छिटो संक्रमण फैलाउने, कम उमेरका व्यक्तिमा पनि बढी जटिलता पैदा गर्ने, अस्पताल भर्ना हुने दर बढाउने भएकाले एकदमै सतर्क हुन आवश्यक छ।’

डा. पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आँकडाअनुसार विगत ६ हप्तामा बेलायती भेरियन्टको कोरोना संक्रमण दर बढ्दो क्रममा छ। भारतबाट आउनेहरुमा गरिएको एन्टिजेन परीक्षणमा पनि यो भेरियन्ट देखिएको छ।

‘अहिले समयमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएन भने स्थिति विकराल बन्छ। त्यतिबेला बन्द गर्नुको विकल्प रहन्न,’ उनले थपे, ‘महामारी बढेपछि अस्पतालका बेड, आईसीयू भरिन्छ अनि हामीसँग पछुताउनेबाहेक विकल्प हुँदैन। त्यसैले समयमै सचेत, जिम्मेवार बन्न आवश्यक छ।’

मन्त्रालयको तथ्यांकअनुसार गत सोमबारदेखि बुधबारसम्म १२ हजार ८७९ पीसीआर परीक्षण गर्दा ८२४ जनामा संक्रमण देखिएको छ। बुधबारसम्म देशभर २ हजार २०१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ४ हजार १०० को पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जना गरी कुल ३३९ जनामा संक्रमण देखिएको छ।

मंगलबार २६०, सोमबार २६६ र आइतबार १७६ जनामा संक्रमण भेटिएको थियो। पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित आईसीयू र १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्यमन्त्री त्रिपाठीले अघिल्लो चरणको अनुभव हेरेर सचेत हुन आग्रह गरे।

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन। सतर्क हुनुपर्छ। विगतको अनुभवले पनि यसको सामाना गर्छौँ। सम्पूर्ण अवयव प्रयोग गरी अवस्था बिग्रन दिँदैनौँ।’

उनले चैत लागेपछि संक्रमण बढ्दै गएकाले सीमा नाकामा एन्टिजेन टेस्ट गर्ने, आवागमनलाई थप व्यवस्थित गर्ने, रोगको शीघ्र पहिचान र आइसोलेसन, शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न कडाइ गरिने बताए।

काठमाडौं विश्वविद्यालयका जनस्वास्थ्य विभागका सह–प्राध्यापक तथा एपिडिमियोलोजिस्ट डा. अर्चना पौडेलले छिमेकी देशहरु भारत, पाकिस्तान र बंगलादेशमा संक्रमणको दर हेर्दा हामी दोस्रो चरणको महामारीमा जाँदैछौ भन्ने प्रष्ट देखिएको बताइन्।

‘गतवर्ष भारतमा लहर आएको एक महिनापछि नेपालमा संक्रमण बढेको देखिन्छ,’ पौडेलले भनिन्, ‘यो वर्षपनि त्यही कुरा दोहोरिन सक्ने पुरा सम्भावना छ। भारतमा अहिले द्रुतगतिमा संक्रमण र मृतक संख्या बढ्दै गएको छ। नेपालको ग्राफ हेर्दा पनि चैतपछि संक्रमण बढ्दै गएको छ।’

उनले फागुनको तुलनामा चैतमा परीक्षणको पोजिटिभिटी रेट पनि बढ्दै गएकाले समुदायमा संक्रमण फैलन सुरु गरेको निष्कर्ष निकाल्न सकिने बताइन्।

उनले अघिल्लो हप्ताभन्दा यसहप्ता बागमती प्रदेशमा संक्रममितको संख्या ४३ प्रतिशतले बढेको बताइन्। यस्तै लुम्बिनी, कर्णाली र प्रदेश २ मा पनि एकहप्तामै ४० प्रतिशत भन्दा बढीले संक्रमित संख्या थपिएकाले थप सतर्क हुनुपर्ने आवश्यकता रहेको उनले औँल्याइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .