काठमाडौंको कोटेश्वरनजिक जडीबुटीमा आज (शुक्रबार) बिहान कार दुर्घटना हुँदा त्यसमा सवार एक यात्रुको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान सवा ७ बजेतिर बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको हो।
दुर्घटनामा कारमा सवार २१ वर्षीय जितम गुभाजुको मृत्यु भएको हो। कार चालक २१ वर्षकै वीरेन्द्र श्रेष्ठ भने सामान्य घाइते भएका छन्।
पेप्सीकोलाबाट जडीबुटी चोकतर्फ तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको छ भने दुर्घटनामा परेको कार काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागको नियन्त्रणमा छ।


प्रतिक्रिया