ad ad

समाज


परिवारको जिम्मा लगाइयो भारतबाट उद्धार गरिएका महोत्तरीका ७ बालिका/युवती

परिवारको जिम्मा लगाइयो भारतबाट उद्धार गरिएका महोत्तरीका ७ बालिका/युवती

शैलेन्द्र महतो
चैत १९, २०७७ बिहिबार ०:४०,

घाँस काट्न गएका बेला बेपत्ता भई भारतमा भेटिएका महोत्तरीका ७ जना बालिका/युवतीलाई सम्बन्धित परिवारको जिम्मा लगाइएको छ।

बिहारको सीतामढीबाट उद्धार गरिएका भंगाहा नगरपालिका–८, धरमपुराका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान,  १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवानलाई नेपाल प्रहरीले बुधबार राति साढे १० बजे महोत्तरीको सदरमुकाम जलेश्वर ल्याएर परिवारजनको जिम्मा लगाएको हो।

mahottaribalika1

घाँस काट्न भनेर मंगलबार दिउँसो घरबाट निस्किएका उनीहरू सम्पर्कविहीन बनेका थिए। खोजीक्रममा भारतीय प्रहरीले उनीहरूलाई सीतामढी रेल्वे स्टेसनमा फेला पारी उद्धार गरेको हो।

त्यसपछि प्रक्रिया पूरा गरी ती ७ बालिका/युवतीलाई भारतीय प्रहरीले बुधबार राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो।

तर घटना अनुसन्धानका लागि भंगहा नगरपालिकाका मेयर सञ्जीव साहको रोहबरमा उनीहरूलाई अहिले प्रहरीकै संरक्षणमा राख्न परिवारजन सहमत भएका छन्। थप सोधपुछ र अनुसन्धानपछि उनीहरूलाई आफ्नो घर पठाइने मेयर साहले जानकारी दिए।

मानव अधिकारवादी संस्थाले स्वास्थ्य परीक्षण गर्नुपर्ने भनेपछि उनीहरूलाई नेपाल ल्याउन अबेर भएको हो।

mahottariba

पहिलो चरणको अनुसन्धानमा बालिका/युवतीलाई कसैले प्रलोभन देखाएर भारत लगेको संकेत पाइएको सशस्त्र प्रहरी (महोत्तरी) का एसपी सुरेश सापकोटाले बताए। अनुसन्धन क्रममा थप कुरा खुल्ने उनको भनाइ छ।

सीतामढी प्रहरीसँग भने उनीहरूले गायिका बन्न आफूहरू हिँडेको बयान दिएका छन्। यसबाट पनि उनीहरूलाई कसैले लोभ देखाएर भारत लगेको आशंका गरिएको छ।

प्रहरीका अनुसार बेपत्ता भएको खबरलगतै बोर्डर सिल गरिए त्यसभन्दा अघि नै उनीहरूले सीमा पार गरिसकेका थिए। सीतामढीमा फेला परेका थाहा पाएपछि महोत्तरीबाट सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार त्यहाँ पुगेको थियो।

भंगहा नगरपालिका प्रमुख सञ्जीव साहले यो घटनामा जोसुकैको संलग्नता भए पनि छुट नपाउने बताएका छन्।

‘यसमा मानवबेचबिखचन गर्ने ठूलै गिरोहको सक्रियता रहेको हाम्रो शंका छ। समयमै भारतीय प्रहरीले उनीहरूलाई उद्धार नगरेको भए ठूलै घटना हुनसक्थ्यो,’ उनले नेपालखबरसँग भने, ‘यो घटनाको प्रहरीले सूक्ष्म अनुसन्धान गरेर दोषीमाथि कडा कारबाही गरोस् भन्ने आग्रह प्रहरीलाई गरेको छु। त्यसको लागि पूर्ण सहयोग हामीले गर्छौं। तर दोषी उम्कन नपाउन्।’

मंगलबार दिउँसो घाँस लिन गएका उनीहरू अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए। उनीहरूको खोजतलासमा नगरप्रमुख सञ्जीव साहसहित जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा जुटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .