समाज


अध्ययन सुरु भएको ४८ वर्षपछि धारामा आइपुग्यो मेलम्चीको पानी (भिडिओ)

अध्ययन सुरु भएको ४८ वर्षपछि धारामा आइपुग्यो मेलम्चीको पानी (भिडिओ)

वसन्त अर्याल
चैत १५, २०७७ आइतबार १२:४,

उपत्यकाबासीलाई सधैँकाे खानेपानी समस्याबाट छुट्कारा दिलाउन मेलम्चीको पानी काठमाडौं ल्याउने वर्षौदेखिको सपना पूरा भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले चुच्चेपाटीस्थित महांकाल चौरबाट आइतबार पहिलो चरणमा ४ करोड लिटर पानी छाडेको हो।

मेलम्चीको पानी वितरणको जिम्मा पाएको केयुकेएलले नयाँ पाइपलाइन परीक्षण गर्दै पुराना पाइपलाइनबाट वितरण सुरु गरेको छ।

आइतबार छोडिएको पानी महांकाल, अनामनगर, मीनभवन र खुमलटार क्षेत्रमा वितरण हुँदै छ।

केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले महाकाल वितरण केन्द्रबाट देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबाह, सिफल, कालोपुल, एयरपोर्ट हाइट, धनवन्धरीमार्ग लगाएका धाराहरुमा पानी वितरण सुरु गरिएको जानकारी दिएका छन्।

मेलम्चीको पानी धारामा आएपछि स्थानीय उत्साहित भएका छन्।

‘मेलम्चीको पानी आउँछ भन्ने सुनेको वर्षौँ भएको थियो’, मेलम्चीको पानी भाँडोमा थाप्दै गरेका जयवागेश्वरीस्थित एक स्थानीयले भने, ‘आज धारामा मेलम्चीको पानी आउँदा धेरै पानीको कारण काकाकुल बनेका हामी खुसी भएका छौँ।’

Melamchi water Udghatan 2

केयूकेएलका निर्देशक शाक्यले पहिलो चरणको परीक्षण सफल भए दोस्रो चरणमा बालाजु क्षेत्रमा ६.५ करोड लिटर पानी छोडिने योजना बनाएको बताए।

तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जलगायतका क्षेत्रमा ८.५ करोड लिटर पानी छोडिने उनले बताए।

केयूकेएलले मेलम्चीबाट आएको दैनिक १७ करोड लिटर पानी उपत्यकाका २ लाख ३० हजार धारामार्फत वितरण हुने जनाएको छ।

एउटा धाराबराबर कम्तीमा १० जना लाभान्वित हुने केयूकेएलको भनाइ छ।

‘मेलम्चीको पानी काठमाडौंमा वितरण हुन्छ भन्दा कहिल्यै आउँदैन भन्ने धेरै थिए’, निर्देशक शाक्यले खुसी व्यक्त गर्दै भने, ‘मेलम्चीको पनी आज स्थानीयको घरमा पुगेको छ। वर्षौदेखिको सपना पूरा भयो।’

अहिले तत्कालै चाहेर पनि चौबीसै घण्टा पानी पुर्याउन नसक्ने शाक्यले बताए।

Melamchi water Udghatan 3

दिन बिराएर उपभोक्ताको घरमा आउने
महांकालचौर वितरण केन्द्रले एक दिन बिराएर पानी वितरण गर्ने भएको छ।

पहिलो दिन केन्द्रको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकाल चौर ट्यांकी भर्ने, राति २ बजेदेखि बिहान ९ बजेसम्म महांकालचौरबाट न्युरोड, क्षेत्रपाटीमा ९ हजार २ सय धारामा वितरण हुनेछ।

त्यस्तै ९ बजेदेखि ३ बजेसम्म कुटुबहाल सिफल कालोपुल, माली गाउँ विशाल नगर क्षेत्रका ३ हजार ७ सय ८५ धारामा पानी वितरण हुनेछ।

दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म देवकोटा सडक बत्तीस पुतली, जय बागेश्वरी चाबहिल क्षेत्रमा ५ हजार ७ सय ८० धारामा पानी वितरण हुनेछ।

साँझ ७ बजेदेखि ८ बजेसम्म महांकालचौर ट्यांकी भर्ने तालिका रहेको छ। राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी घट्टेकुलो, डिल्लीबजार क्षेत्रको ३ हजार ७ सय ९० धारामा वितरण हुने तालिका छ।

दोस्रो दिन राति २ बजेदेखि बिहान ८ बजेसम्म इन बहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी नक्साल क्षेत्रको धारामा ७ हजार ६ सय २५ धारामा पानी वितरण हुन्छ।

त्यस्तै बिहान १० बजेदेखि ४ बजे बानेश्वर, सिनामंगल, मिलन चोक, संगम चोकका १४ हजार ४ सय ९३ धारामा पानी वितरण हुनेछ। यही समयमा जय वागेश्वरी मित्रपार्क, चाबहिल, रातोपुल, कालीमाटी क्षेत्रमा पानी वितरण हुनेछ।

साँझ ५ बजेदेखि राति १२ बजेसम्म चारखाल, डिल्ली बजार कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा वितरण हुने केयूकेएलले जनाएको छ।

Melamchi water Udghatan 5

४८ वर्षअघिकाे सपना
काठमाडौं उपत्यकामा दीर्घकालीन रुपमा खानेपानी आपूर्ति गर्न विश्व बैंकको सहयोगमा वि.सं. २०२९ सालदेखि नै सम्भाव्यता अध्ययन सुरु भएको थियो।

वि.सं. २०४१ मा बीनी एण्ड पार्टनर्सले अध्ययन पूरा गरी २२ वटा विकल्प प्रस्तुत गरेको थियो। २०४९ मा फेरि अर्को तुलनात्मक अध्ययन भयो।

परामर्शदाता कम्पनी एसएमईसीले गरेको उक्त अध्ययनमा अघिल्ला २२ विकल्पमध्ये मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनसक्ने विकल्प प्रस्तुत गरियो।

त्यसपछि २०५५/०५६ मा एडीबीको इन्जिनियरिङ ऋण सहायता र नर्वे सरकारको सहयोगमा आयोजनाको विस्तृत सम्भाव्यता र डिजाइन कार्य सुरु भएको थियो।

सोसँगै २०५७ सालमा एडीबीसँग ऋण सम्झौता भयो। तर त्यसको सात वर्ष यतिकै खेर गयो। २०६४ मा निर्माणकार्य सुरु नहुँदै ऋण सम्झौता अवधि समाप्त भयो।

Melamchi water Udghatan 4

सोही वर्ष सरकारले एडीबीलाई पुनर्संरचना गरी कार्य सञ्चालन गर्न अनुमति दियो।

डिजाइन सम्पन्न भएसँगै २०६६ देखि करिब २६ किलोमिटर सुरुङ निर्माण गर्ने कार्य सुरु भएको थियो। सुरुङ निर्माण सकिएर परीक्षण गरेपछि आजको अवस्थामा मेलम्ची आयोजना आइपुगेको हो।

मेलम्चीको पानी सुन्दरीजल झरेसँगै आजदेखि पहिलो चरणमा मेलम्ची नदीको पानी डाइभर्सन गरी दैनिक १७ करोड लिटर पानी ल्याउन सुरु भएको छ।

Melamchi water Udghatan 6

हाल १७ करोड लिटर मात्रै आउने आयोजनाबाट दोस्रो चरणमा थप ३४ करोड लिटर पानी आउनेछ।

दोस्रो चरणअन्तर्गतको याङ्ग्री तथा लार्के नदीबाट प्रतिदिन ३४ करोड लिटर थप पानी काठमाडौं ल्याउन करिब ९.५ किलोमिटर लामो याङ्ग्री सुरुङ तथा हेडवर्क्स र २ किलोमिटर लामो लार्के सुरुङ निर्माण गर्नुपर्नेछ।

भिडिओ:

यो पनि : 
काठमाडौंवासीका धारामा मेलम्चीको पानी, पहिलो चरणमा छोडियो ४ करोड लिटर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .