नेपालमा रहेका शरणार्थीलाई पनि कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरिएको छ।
राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीहरुलाई समेत समेटिएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर) ले जनाएको छ।
यूएनएचसीआरकै अनुसार यसरी कुनै मुलुकमा रहेका शरणार्थीलाई समेत नागरिकसरह खोप अभियानमा समेट्ने एसिया तथा प्यासिफिक क्षेत्रमा नेपाल पहिलो हो।
झापाकाे बेलडाँगी र पथरी–शनिश्चरेस्थित शिविरमा रहेका भुटानी शरणार्थीहरुलाई स्थानीय स्वास्थ्य केन्द्रहरुमा खोप दिइएकाे छ।
६५ वर्षमाथिका व्यक्तिहरुलाई लक्षित गरी फागुन २३ देखि सुरु भएको दोस्रो राष्ट्रिय खोप अभियानअन्तर्गत यी शरणार्थीलाई पनि नेपाल नागरिकसरह समेटिएको हो।
‘राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीहरुलाई समेत समेटेर नेपाल सरकारले सार्वजनिक स्वास्थ्यका सम्बन्धमा उदाहरणीय नेतृत्व प्रदर्शन गरेको छ,’ यूएनएचसीआरकी नेपाल प्रतिनिधि क्यारोलिन स्पानथ वर्माले भनेकी छन्।
नेपालले कोभिड–१९ महामारीको सुरुदेखि नै शरणार्थीहरुलाई आफ्ना राष्ट्रिय योजनाहरुमा समावेश गरेर उदारता देखाएको यूएनएचसीआरले जनाएको छ। जसअनुसार शरणार्थीले पनि नेपाली नागरिक सरह स्वास्थ्य सेवा र उपचारमा पहुँच पाउनेछन्।
राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले गठन गरेको कोभ्याक्समार्फत् कोभिड–१९ खोप प्राप्त गर्ने एसियाका पहिला मुलुकहरुमध्ये नेपाल पनि एक हो। कोभ्याक्समार्फत् केहि दिनपहिले ३ लाख ४८ हजार डोज खोप रहेको पहिलो खेप नेपाल आइपुगेको थियो।
नेपालमा १६ लाख मानिसलाई कोभिड खोपको पहिलो डोज दिइसकिएको छ। नेपाल सरकारले आफ्नो कूल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने महत्वाकांक्षी योजना घोषणा गरेको छ।

प्रतिक्रिया