ad ad

समाज


माडीमा राम मन्दिर बनाउन वागमती सरकारको चासो

माडीमा राम मन्दिर बनाउन वागमती सरकारको चासो

नेपालखबर
चैत २, २०७७ सोमबार १६:५,

चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउनेबारे वागमती प्रदेश सरकारले चासो लिएको छ।

यस विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको छ।

छलफलका क्रममा राम मन्दिरको वास्तुकलाको बारेमा प्रस्तुति पनि भएको छ। प्रदेश सरकार र संघीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन्।

जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषयमा आवश्यक अनुसन्धानलाई पनि अगाडि बढाउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

राम मन्दिरसहित माडीलाई धार्मिक केन्द्र बनाइने मास्टर प्लानको बारेमा मन्त्रालयका अधिकारी र मुख्यमन्त्री स्थलगत अध्ययनमा पनि जाने उनले बताए।

‘धार्मिक र आर्थिक विकास गरेर पर्यटकीय आकर्षण बढाउन वाल्मीकी आश्रमदेखि जनकपुरसम्म अध्ययन गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘अयोध्याको अध्ययन र मन्दिर निर्माण सँगसँगै अगाडि बढाउने तयारी छ।’

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान् राम र सीताको मूर्ति तयार भएको छ। मूर्ति प्रधानमन्त्रीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ। प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको बताइएको छ। आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना बनाइएको छ।

प्रधानमन्त्री ओलीले गत माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए।

माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरेको छ। गएको असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .