विमेन इन रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।
कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी प्रथम महिला डिस्ट्रिक्ट गर्भनर जया राज्यलक्ष्मी शाहले महिलालाई आत्मनिर्भर बनाउन रोटरीले उल्लेखनीय भूमिका खेलेको बताइन्। उनले महिलालाई आत्मनिर्भर बनाउन सके त्यसले महिला सशक्तिकरणमा बल पुग्ने बताइन्।
कार्यक्रममा होटल एसोसियन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले कोभिड कहरले नेपालको पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा चर्चा गर्दै कुनै पनि कार्यमा सफल हुन आत्मबलको खाँचो हुने बताइन्। औपचारिक शिक्षा छैन भनेर हिनताबोध पाल्नुभन्दा दृढ विश्वासका साथ अगाडि बढ्न सकेमा हरेक कुरा सम्भव हुने राणाको तर्क थियो।
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले महिला अधिकारको सवाल नारी दिवसका अवसरमा मात्र नभएर प्रत्येक दिन उठाउनुपर्ने बताइन्।
कार्यक्रममा स्नेहको काखकी सञ्चालिका श्रीनेहा पोखरेललाई सम्मान गरिएको थियो। पोखरेलले मानसिक रोगको शिकार भई सडकमा बेवारिसे बनेका महिला, बालबालिकालाई स्नेहको काखमा ल्याएर उनीहरुको संरक्षण तथा उपचार गराउने गरेकी छन्।
कार्यक्रममा रोटरियन तथा ननरोटरियनको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विमेन इन रोटरी डिस्ट्रिक्टकी चियर शारदा आर्चाय पोखरेलले गरेकी थिइन् भने सञ्चालन कोचियर मञ्जु धमला थापाले गरेकी थिइन्।

प्रतिक्रिया