ad ad

समाज


दलितले छोएको दही खाएका कारण डेढ वर्षदेखि बहिष्कृत आचार्यलाई न्याय दिन मानव अधिकार आयोगको आग्रह

दलितले छोएको दही खाएका कारण डेढ वर्षदेखि बहिष्कृत आचार्यलाई न्याय दिन मानव अधिकार आयोगको आग्रह

नेपालखबर
फागुन १६, २०७७ आइतबार २:५५,

खोटाङमा दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएका टंकप्रसाद आचार्यलाई न्याय दिन र सुरक्षाको ग्यारेन्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले २०७६ जेठ १८ गते आयोजना गरेको सहभोज कार्यक्रममा गएर दलित युवतीको हातबाट दही खाएको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय आचार्यलाई त्यस बेलादेखि अघोषित रूपमा सामाजिक बहिष्कार गरिएको हो।

सामाजिक बहिष्करणका कारण मानसिक पीडामा परेका आचार्यलाई त्यसबाट मुक्ति दिन र आवश्यक सुरक्षा मिलाउन आयोगको प्रदेश शाखा कार्यालय (खोटाङ) ले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो।

घटनाबारे सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन र नगरपालिकालाई अनुरोध गरिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले जानकारी दिए।

आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गरी पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने धारणा सार्वजनिक गरेको हो।

जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भई दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण भइरहेको तथ्य प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले उल्लेख गरेको छ।

घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएका आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए।

घरमा कुशेऔंशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ।

समाजमै अघोषित बहिष्कार गरिएको भन्दै आचार्य न्यायको याचनासहित २०७६ भदौ ३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए। मुख्यमन्त्री राईले तत्काल प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि दोषीलाई कारबाही भएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .