समाज


झा दम्पती बेपत्ता प्रकरण : अवस्था अझै अज्ञात, घर अगाडिको सडकमा देखियो रगतको छिटा

झा दम्पती बेपत्ता प्रकरण : अवस्था अझै अज्ञात, घर अगाडिको सडकमा देखियो रगतको छिटा

शैलेन्द्र महतो
फागुन १४, २०७७ शुक्रबार १०:२२,

गत सोमबार राति बेपत्ता भएका महोत्तरीको पीपरा गाउँपालिका–५, सहोडबाका झा दम्पतीको अवस्था अझै अज्ञात रहेको छ।

प्रहरीले खोज, अनुसन्धानलाई तीव्र बनाएको बताए पनि बेपत्ताको विषयमा अहिलेसम्म कुनै तथ्य फेला पार्न सकेको छैन।

विवादित जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी श्रीमती ६० वर्षीय गीतादेवी झा ओछ्यानबाटै बेपत्ता भएका थिए।

राति खाना खाएर छुट्टाछुट्टै कोठामा सुतेका उनीहरु बिहान ओढ्ने–ओच्छ्याउनेसहित बेपत्ता भएका हुन्। गीतादेवी सुतेको कोठामा रगतको छिटा फेला परेपछि घटना शंकास्पद बनेको छ।

jhashokakul
शोकाकुल आफन्तहरु

यसैबीच शुक्रबार बिहान बेपत्ता झाको घर अगाडिको सडक पखाल्ने क्रममा रगतको छिटाजस्ता दागहरु देखिएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले झाको घर अगाडिको सडक पखाल्ने क्रममा रगतका जस्तै दागहरु फेला पारेको बताए। झाको घरबाट झण्डै १५ मिटर परसम्म रगतका जस्तै देखिने दाग/छिटा देखिएको उनले बताए।

याे पनि :  महोत्तरीमा जग्गा मुद्दामा साक्षी बसेका व्यक्तिको दम्पति नै बेपत्ता, सुतेको ठाउँमा रगत !

‘रगतको जस्तै दागहरु देखिन्छ। तर, रगत हो वा होइन भन्ने परिक्षणपछि मात्र भन्न सकिन्छ’ उपरीक्षक केसीले नेपालखबरसँग भने, ‘झा दम्पतीको अवस्था पत्ता लगाउन हामी दिनरात विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं।’

jhasadak
सडकमा रगत देखिएपछि अनुसन्धान गर्दै प्रहरी

शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको र दर्जन बढीसँग सोधपुछ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडकमा समेत रगतको दागदेखिएपछि घटना झन् रहस्यमय बन्दै गएको छ।

मंगलबार थियो मुद्दाको पेसी, सोमबार राति नै साक्षी बसेका झा बेपत्ता
बेपत्ता भएका मोसाफिर मालपोतका अवकाश प्राप्त कर्मचारीसमेत हुन्। उनी महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगराका रामजी भन्ने व्यक्तिको झण्डै ५ विघा मोहियानी जग्गा विवाद मुद्दाको साक्षी बसेका थिए।

यो पनि : बेपत्ता झा दम्पतीका विषयमा शंकास्पदहरुसँग सोधपुछ गर्दै प्रहरी, अहिलेसम्म कोही पक्राउ परेनन्

बुहारी उषाका अनुसार सो मुद्दाको मंगलबार जिल्ला अदालत महोत्तरीमा पेसी तोकिएको थियो। त्यसको एक दिन अगाडि नै रामजीलगायत दुई जना व्यक्ति आएर भोलि अदालतमा मुद्दाको पेसी छ, जानुपर्छ भनेका थिए। जग्गाको विवाद समाधानका लागि झा निरन्तर छलफलमा जाने गरेका थिए।

‘रामजी भन्ने व्यक्ति आउनुहुन्थ्यो। मेरो ससुरासँग उहाँको मुद्दासम्बन्धी नै बढी कुराकानी हुन्थ्यो’, बुहारी उषा झाले नेपालखबरसँग भनिन्’, ‘त्यही मुद्दाका लागि ससुरालाई घरबाट लैजाने र ल्याउने काम उहाँ नै गर्नुहुन्थ्यो।’

buhariusha
बुहारी उषादेवी

बेपत्ता हुनुभन्दा एक दिनअघि आफ्नै जग्गा बिक्री गरेको विषयमा गाउँकै लक्ष्मी यादवसँग झा दम्पतीको विवाद भएको थियो।

उषाका अनुसार सासू गीताले १० धुर जग्गा साढे ७ लाखमा लक्ष्मीलाई बेचेकी थिइन्। लक्ष्मी घरमा आएर लिएको १० धुर जग्गा केही सडकमा समेत परेकाले ७ लाख रुपैयाँ मात्र दिने तर अहिले ५ लाख र केही महिनापश्चात दुईलाख दिने भनेपछि सासूले नमानेपछि समान्य भानाभान भएको बुहारी उषाको भनाइ छ।

अवस्था अझै अज्ञात, घरपरिवारमा रुवाबासी, गाउँले त्रसित
बेपत्ता भएको पाँच दिन बित्दासमेत झा दम्पतीको कुनो अत्तोपत्तो नभएपछि परिवारका सदस्य शोकमा डुबेका छन्। घटना बुझ्न आउने मानिसहरुका आगाडि परिवारका सदस्यहरु भक्कानो छाडेर रुने गरेका छन्।

झाका जेठा छोराको एक वर्षअघि नै निधन भएको थियो। कान्छा छोरा भारतमा छन्। जेठी बुहारी घरभन्दा केही पर अर्कै घरमा बस्छिन् भने कान्छी बुहारी छोराछोरीसहित सासूससुरासँग बस्दै आएकी छन्।

sadakpakhaldai
रगतका छिटा खोज्न सडक पखाल्दै महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसी

ओछ्यानसहित नै दम्पती बेपत्ता भएदेखि घरपरिवारसहित गाउँले अहिले हरु त्रासमा छन्। उनीहरुले आफूहरु असुरक्षित भएजस्तै महसुस गरिरहेको बताउँछन्।

अस्वस्थ्य र वृद्ध आमाबुबा बेपत्ता भएको ५ दिन हुँदासम्म पत्ता नलागेपछि अप्रिय घटनाको आशंकाले छोरी बेबी मिश्रा झनै आतंकित बनेकी छन्। उनीजस्तै मोसाफिरकी बहिनी शान्ति झा, बुहारी, नातिनातिना लगायत परिवारका अन्य सदस्यहरु त्रास र शोकमा छन्।

स्थानीय विजयकान्त झाले झा दम्पतीको बेपत्ता भएपछि डरले छरछिमेकी र गाउँलेसमेत राम्ररी सुत्न नसकेको बताए। दुबै जनाको अवस्था अझै अज्ञात हुँदा अपहरण गरेको वा हत्या गरेर कतै फालिदिएको भन्ने आशंका र त्रास गाउँलेमा रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .