कारोबार


मेलम्चीको पानी आउँदा काठमाडौं जलमग्न हुनसक्ने, कोटेश्वरमा परीक्षणको क्रममा भत्कियो पर्खाल (भिडिओ)

मेलम्चीको पानी आउँदा काठमाडौं जलमग्न हुनसक्ने, कोटेश्वरमा परीक्षणको क्रममा भत्कियो पर्खाल (भिडिओ)

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १०:२०,

मेलम्चीको पानी काठमाडौंमा आउँदा धेरै ठाउँमा पाइप सिपेज हुने अर्थात् पाइपलाइनबाट पानी चुहिने देखिएको छ।

बिहीबार परीक्षणको क्रममा कोटेश्वरस्थित सूर्यकोटमा पर्खाल भत्काउने र घर नै जलमग्न हुने गरी सिपेज भएपछि धेरै ठाउँमा चुहावटको सम्भावना देखिएको हो।

अहिले पानी वितरणको लागि बिछ्याइएका पाइपलाइनमा १५ प्रतिशत मात्रै परीक्षण भएको छ। यसको मतलब ८५ प्रतिशत पाइपलाइनमा परीक्षणको काम बाँकी छ। त्यसमा पनि पाइपलाइन राख्ने काम कतिपय स्थानमा अझै बाँकी छ।

त्यसो हुँदा मेलम्चीको पानी आएपछि धेरै ठाउँमा ‘लिकेज’ हुने देखिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)का कार्यकारी निर्देशक कमलराज श्रेष्ठले हाल कोटेश्वर क्षेत्रमा पाइप टेस्टिङको काम भइरहेको बताए।

बिहीबार मेलम्चीको पानी वितरणको लागि कोटेश्वरमा पानी परीक्षणको क्रममा सिपेज हुँदा काठमाडौं सूर्यकोटका पर्खाल भत्किएर केही घर जलमग्न भएका छन्।

‘कोटेश्वर क्षेत्रमा टेस्टिङको कार्य भइरहेको छ’, पीआईडीका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने, ‘बिहीबार सूर्यकोटमा पाइपमा सिपेज हुँदा सानो पर्खाल ढलेछ। केही घरभित्र पनि पानी पसेछ।’

आयोजनाले नयाँ विस्तार गरेका पाइपलाइनको टेस्टिङको लागि सुन्दरीजलबाट पानी सप्लाई गर्दै आएको छ। हालसम्म नयाँ २ सय किमि पाइपलाइन विस्तारको टेस्टिङ भएको छ। यो क्षेत्रमा १४ हजार घरधूरी छन्।

‘टेस्टिङ थोरै मात्र भएको छ, धेरै बाँकी छ। नयाँ पाइपलाइन जडान भएकोमा १५ प्रतिशत मात्रै टेस्टिङको काम भएको छ’, श्रेष्ठले भने, ‘हिजो (बिहीबार) हिलो पानी जमेको कारणले पर्खाल निर्माणको काम हुनसकेन। पर्खाल निर्माणको लागि बालुवा ल्याइसकेका छौँ। हामीले निर्माण गरिदिन्छौँ।’

भिडिओ :

मेलम्चीको पाइप चुहिँदा कोटेश्वरमा पर्खाल भत्किए, केही घर जलमग्न भए -भिडिओ स्रोतः सामाजिक सञ्जाल

Posted by Nepalkhabar on Friday, February 26, 2021

अहिले पनि सुन्दरीजलबाट खोलाको पानी ट्यांकीमा पठाएर विभिन्न ट्यांकीमा पठाइएको छ। त्यो पानीलाई घरघरमा पठाई परीक्षणको काम भइरहेको छ।

‘सुन्दरीजलको पानी १० वटा ट्यांकीमा पठाउनको लागि ७६ किमि लाइन निर्माण भएको छ’, श्रेष्ठले भने, ‘मेलम्ची पानी वितरण गर्न ११ सय २२ किलोमिटर वितरणको लागि सञ्जाल तयार पारिरहेको छ।’

अहिले विस्तार भइरहेको नयाँ पाइपलाइन विस्तारको काम १ वर्षमा बल्ल पूरा हुने निर्देशनालयले बताएको छ। मेलम्ची खानेपानी आयोजनाले वैशाखभित्र पाइप सञ्जाल भएका सबै घरमा पानी पु¥याउने दाबी गर्दै आएको छ।

‘नयाँ पाइपलाइनमा करिब १५ प्रतिशतसम्म चुहावट हुने सम्भावना छ’, उनले भने, ‘बाँकी केयुकेलको पुरानो प्रणालीबाटै पानी विस्तार गर्ने योजना छ। पुरानो पाइपलाइनमा त धेरै नै लिकेज हुन्छ।’

निर्देशनालयका अनुसार पुरानो पाइपलाइनलाई विस्थापन गर्दै नयाँ प्रणाली जडान जानुपर्छ।

‘हामीले गर्दै आएको १ हजार किलोमिटर १ वर्षभित्र बल्ल पूरा हुन्छ’, उनले भने, ‘मेलम्चीको पानी मुख्य रुपमा रिङरोडभित्र वितरण हुन्छ। त्यसबाहेक केयुकेलको पुरानो पाइपलाइन वितरण प्रणाली भएको ठाउँमा जान्छ।’

मेलम्चीको पानी रिङरोडबाहिरका बाँसबारी क्षेत्र, कीर्तिपुर क्षेत्र, कोटेश्वरको नरेफाँट र भक्तपुरको केही क्षेत्रमा मेलम्ची खानेपानी वितरण हुँदै छ।

मेलम्चीको पहिलो चरणमा दैनिक १७ करोड लिटर वितरण गर्न पुग्ने गरी पूर्वाधार तयार भए पनि यांग्री र लार्के समेत गरी कुल दैनिक ५१ करोड लिटर पानी वितरणको लागि पूर्वाधार तयार गरिँदै जाने बताए।

मेलम्चीको दोस्रो चरणको पानी आउँदासम्म रिङरोड बाहिर समेत गरी १ हजार किलोमिटर नयाँ पाइपलाइन विस्तार हुनेछन्। यो पूरा हुनको लागि ३–४ वर्ष लाग्ने आयोजनाले जनाएको छ।

एसियाली विकास बैंकको सहुलियत ऋणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो चरणमा पानी ट्यांकी तथा थोक र वितरण पाइपलाइन बिछ्याउने कार्य भइरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .