समाज


सम्बन्धबिच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै

सम्बन्धबिच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ६:१०,

देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ। २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धबिच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ।

देवानी संहिता लागू भएपछिको ११ महिनाको अवधिमा मात्र सम्बन्धबिच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ। महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा दर्ता गराएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा पुरुषको तर्फबाट सम्बन्धबिच्छेदका मुद्दा दर्ता गर्न पाउने कानूनी प्रावधानपछि महिलाकै हाराहारीमा पुरुषको तर्फबाट मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ।

गत आव २०७४÷७५ बाट जिम्मेवारी सरेर आएकासमेत गरी आव २०७५÷७६ मा चार हजार ६६५ वटा विभिन्न प्रकारका मुद्दा दर्ता भएका थिए। दर्ता भएकामध्ये दुई हजार ६८३ मुद्दा फैसला भइसकेका छन् । सम्बन्धविच्छेदका मात्र ४०३ वटा मुद्दा फछ्र्योट भइसकेको अदालतका श्रेस्तेदार खनालले बताए।

सम्बन्धविच्छेद मुद्दामा अहिलेको नयाँ कानूनी व्यवस्थाले एकतर्फी वा दुवै पक्ष मुद्दामा उपस्थित नभएका मुद्दालाई एक वर्षसम्म नटुङ्गिने भएकाले सकेसम्म दुवै पक्ष मिलेर जाउन भन्ने उद्देश्यले सम्बन्धबिच्छेदको हकमा ८० प्रतिशत मुद्दा मेलमिलापबाट नै टुङ्गो लगाइएको उनको भनाइ छ।

वैदेशिक रोजगारीका कारण सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेको वरिष्ठ अधिवक्ता तथा झापा बार एकाइका अध्यक्ष लेखनाथ निरौलाले बताए। उनले अहिलेको कानूनमा पुरुषले सहजै अदालत गएर सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानून बनेपछि यसको सङ्ख्यामा वृद्धि भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad