समाज


बाजुरासहितका जिल्लामा सुरु भयो हिमपात र वर्षा, किसान खुशी

बाजुरासहितका जिल्लामा सुरु भयो हिमपात र वर्षा, किसान खुशी

नेपालखबर
माघ २३, २०७७ शुक्रबार २:५८,

बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ। भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन्।

समयमै हिमपात र बर्षा नहुँदा हिउँदेबाली सुक्ने चिन्तामा रहेका किसान हिमपातले खुसी भएका हुन्। हरेक वर्ष मङ्सिरबाट सुरु हुने हिमपात यो वर्ष माघ महिनामा मात्र सुरु भएको किसानले बताएका छन्।

बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसानमा उत्साह छाएको छ। ‘यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ’, बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, ‘एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ।’ हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमका कारण फैलन सक्ने रोग पनि नियन्त्रणमा आउने अपेक्षा स्थानीयले गरेका छन्।

हिमपातले कृषकमा खुसी भए पनि व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपातले सडक बन्द भई सामान ढुवानी गर्न समस्या हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामान डुवानीमा समस्या हुन्छ।

अहिले बाजुराको उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ। चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ।

निरन्तर हिमपात भइरहेकाले गाइबस्तु स्थानीयले गोठभन्दा बाहिर निकाल्न सकेका छैनन्। बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो।

बाजुराको बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ।

सिमकोट– हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात हुँदा यहाँका किसान खुशी भएका छन्।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात शुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन पनि कष्टकर बनेको छ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका–६ बराइगाउँका मानबहादुर ऐडीले बताए। ‘यो हिमपातले हुम्लाका किसानमा निकै खुशी ल्याएको छ। हिमपात कृषि क्षेत्रका लागि उत्तम छ,’ उनले भने।

हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी भने मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइरहेको छ। सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन्।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad