समाज


मलेसियाबाट १८ नेपालीको शव ल्याइयो

मलेसियाबाट १८ नेपालीको शव ल्याइयो

नेपालखबर
माघ १०, २०७७ शनिबार ११:४३,

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ।

शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उडेको थियो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए। मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ। नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो। वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ।

मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो। नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ। ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ। विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए।

‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र छौँ, यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ’, उनले भने।

महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ। निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad