पोल्याण्डको राजधानी वार्सामा रहेको एउटा अस्पतालमा आन्दोलनकारीले आगजनी गरेका छन्।
चर्चित व्यक्ति तथा राजनीतिज्ञहरूलाई खोप लगाउन प्राथमिकता दिइएको भन्दै रुष्ट नागरिकले अस्पतालमा आगजनी गरेका हुन्।
युरोपेली मुलुक पोल्याण्डमा गत डिसेम्बर २७ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । खोपका लागि स्वास्थ्य सेवामा सक्रिय स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिने निर्णय सरकारले गरेको थियो।
तर वार्सा मेडिकल युनिभर्सिटीले भने अरु केही चर्चित व्यक्तिहरूलाई पनि लगाइदिएको थाहा पाएपछि आम नागरिक रुष्ट भएका हुन्।
अहिलेसम्म ४५० जनालाई खोप लगाइएको छ। जसमा तीन सय जना स्वास्थ्य सेवाका कर्मचारी रहेका र बाँकी अन्य क्षेत्रका व्यक्तिहरू रहेका अधिकारीहरुले जनाएका छन्। खोप लगाउनेको यो सूचीमा केही राजनीतिज्ञहरू समेत रहेका छन्।
सरकारले पक्षपात र असन्तुलित व्यवहार गरेकोमा सत्तारुढ दलसहितका दलहरूले पनि आलोचना गरेका छन्। एजेन्सी

प्रतिक्रिया