आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि प्याजको मूल्य घट्न थालेको हो।
भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । बढेको मूल्य प्रतिबन्ध हटाएपछि अहिले घट्न थालेको हो।
प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार सोमबार प्रतिकिलो ६० देखि ६५ सम्ममा प्याजको कारोबार भइरहेको छ। यसअघि पुस १५ गते प्रतिकिलो ६० देखि ७० मा कारोबार भएको थियो । यसैगरी पुस १० गते प्रतिकिलो ७० देखि ८० सम्म कारोबार भएको थियो।
कालीमाटीको तथ्याङ्कअनुसार प्रतिबन्ध गरिएको अवस्थामासमेत विभिन्न नाका हुँदै पर्याप्त मात्रामा प्याज आयात भएको पाइएको छ । प्रतिबन्धको शुरुआती दिनमा प्याज आयातमा केही कमी आए पनि पछिल्ला दिनहरूमा पर्याप्त मात्रामा आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। उनका अनुसार गत असोज महिनामा मात्र ७७६ मेट्रिक टन प्याज आयात भएको थियो । भदौको अन्तिम साता प्रतिबन्ध लगाए पनि असोजमा उल्लेख्य मात्रामा प्याज भित्रिएको तथ्यांक छ।।
यसैगरी गत कात्तिकमा एक हजार २९८ टन र मङ्सिरमा सबैभन्दा धेरै एक हजार ६९० टन प्याज भित्रिएको हो । यसैगरी पुस १ देखि १९ गतेसम्म एक हजार २५९ टन प्याज कालीमाटी तरकारी बजारमा भित्रिएको छ । जसमा एक हजार १७७ टन प्याज भारतबाट, ३० टन प्याज चीन तथा बाँकी ५२ टन नेपाली प्याज भित्रिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
प्रतिबन्धको शुरुआती दिनहरूमा केही व्यापारीले चीनबाट प्याज आयात गरेपनि पछिल्ला दिनमा भारतबाट नै आयात भइरहेको थियो । पर्याप्त मात्रामा भारतबाट प्याज आयात भएपछि पछिल्लो समय यसको मूल्य विस्तारै घट्न थालेको छ। हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेको छ।
Shares

प्रतिक्रिया