ad ad

समाज


घर पुर्‍याउन आएका साथीहरु बाटैमा लास फालेर भागे, सीसी क्यामराको सहारामा पुग्यो प्रहरी

घर पुर्‍याउन आएका साथीहरु बाटैमा लास फालेर भागे, सीसी क्यामराको सहारामा पुग्यो प्रहरी

उजिर कार्की
मंसिर २१, २०७७ आइतबार १३:३,

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीसी क्यामरामा भक्तपुरमा भयानक दुर्घटना भएको दृश्य देखियो। शनिबार रातको १२ बजेर ४७ मिनेट गएको थियो।

मध्यपुरठिमी ३ कौशलटारस्थित सडकबाट काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटनामा परेको देख्नासाथ महानगरीय प्रहरी कार्यालयले प्रहरी परिसर भक्तपुरमा खबर गर्‍यो।

लगत्तै ठिमी वृत्तबाट प्रहरी निरीक्षक इन्द्रमणि अधिकारी नेतृत्वको टोली त्यसतर्फ गयो। कार दुई वटा सडकको लेनको बीचमा रहेको फलामको रेलिङ भाँच्चिने गरी ठोक्किएको थियो।

घटनास्थलनजिकै सडकमा एक महिला अचेत अवस्थामा फेला परिन्। प्रहरीले उनलाई तत्कालै मध्यपुर अस्पताल ठिमीमा पुर्‍यायो। तर चिकित्सकहरुले मृत्यु भइसकेको जानकारी दिए।

ती मृत महिलाको बिहानसम्म पनि सनाखत हुन सकेन। भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरी भन्छन्, ‘बिहानसम्म त हामीलाई पनि के हो, के हो भन्ने लागेको थियो।’

129119994_757444908196274_488278171627184214_n.jpg

तर, दुर्घटना भएको कारको नम्बरका आधारमा प्रहरीले कार धनी पत्ता लगायो। बा ८ च ४७५६ नम्बरको कारका चालक रहेछन् भक्तपुरको ठिमी नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की।

उनी पक्राउ परेसँगै मृतक महिला काठमाडौं महानगरपालिका ४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ भएको पत्ता लाग्यो।

प्रहरीले रञ्जितलाई नियन्त्रणमा लिएसँगै खुल्यो घटनाको रहस्य। रञ्जितले प्रहरीलाई बताए अनुसार रिया र रञ्जितसहित चार जनाले राधेराधेको एक होटलमा रातिसम्म खानपिन गरे। रन्जितले आफूहरु साथीसाथी मात्रै रहेको बताएका छन्।

रञ्जितका अनुसार उनीहरु चार जना खानपिन सकेर रियालाई धुम्बाराहीस्थित घरसम्म पुर्‍याउन फर्किंदै थिए।

कारमा सँगै थिए ठिमी ५ राधेराधेका २६ वर्षीय विजय देउजा र सूर्यविनायक ४ गाम्चाका २७ वर्षीय सुदीप थापा। रन्जितले कार चलाएका थिए। रिया अगाडिको अर्को सिटमा बसेकी थिइन्।

bhaktapur_accident_346.jpg

विजय र सुदीप पछाडिको सिटमा थिए। भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको कार देब्रेतर्फको रेलिङमा ठोक्किएर दुर्घटनामा पर्‍यो।

दाहिनेतर्फ बसेका रञ्जित र सुदीपलाई चोटपटक लागेन। विजयलाई सामान्य चोट लाग्यो । तर रियाको भने घटनास्थलमै ज्यान गयो।

रियाको ज्यान गएपछि आफूहरु उनलाई त्यहीँ छाडेर घर गएको रञ्जितले बताएका छन्। तर प्रहरीले सीसीक्यामेरा र गाडी नम्बरका आधारमा उनीहरुलाई पत्ता लगायो।

दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .