ad ad

समाज


विश्वका प्रभावशाली महिलाको सूचीमा परेकी सपना भन्छिन्ः परिवारको मन जितेँ, अब पढाइ पनि सुरु गर्छु

विश्वका प्रभावशाली महिलाको सूचीमा परेकी सपना भन्छिन्ः परिवारको मन जितेँ, अब पढाइ पनि सुरु गर्छु

उजिर कार्की
मंसिर ९, २०७७ मंगलबार ९:५,

‘कुनैदिन गाउँ पुगेर बाबाममीको अंगालोमा धित मरुन्जेल रुने धोको छ,’ गत असार २१ गते पशुपतिको किनारमा शव जलाउँदै गरेकी सपनाले बह पोखेकी थिइन्।

तर, त्यसअघि उनले परिवारको मन जित्नु थियो। घर छाडेर हिँडेपछि टुटेको विश्वास फर्काउनु थियो। मंगलबार बिहान उनको यो धोको पुरा भयो। सपनाले आफ्नो परिवारको मात्र होइन, संसारकै मन जितिन्।

बीबीसीले सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलामध्ये सपनालाई पनि छनोट गरेको छ। आफ्नै जीवन कठिन हुँदाहुँदै उनी समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका विश्वका सय महिलामा परिन्।

मंगलबार झिसमिसेमै आएको यो खबरले सपना रोका मगरको म्याग्दीस्थित परिवारमा खुसीको सञ्चार भयो। अहिले घरमै रहेकी सपना खुसीले आमाको अंगालोमा रोइन्। सुरुमा त खबर पत्याउनै गाह्रो भयो। तर, निरन्तरको फोन र सन्देशले पत्याउनै पर्ने बनायो।

Sapana BBC100

सञ्चारमाध्यम र सामाजिक सञ्जाल खोलेर हेरिन्, जताततै उनकै खबर थियो। जताततै बधाई, सपना हो कि विपनाको, अलमलमा परिन्।

१८ वर्षीय सपना बेवारिसे शव जलाउने काम गर्छिन्। जसलाई दागबगत्ती दिने कोही हुँदैनन्, वर्षौंदेखि सडेका हुन्छन् शव। त्यस्ता शव संकलन गर्ने, आफैं दागबत्ती दिने र जलाउने काम गर्छिन् उनी। एक सय बढी शवलाई उनले दागबत्ती दिइसकेकी छन्।

म्याग्दीको बरङ्जास्थित घरमा यतिबेला सपना बुबा, आमा र हजुरआमासँगै छिन्। उनका दिदी र दाइ विदेशमा छन्। विदेशमा भएका उनीहरुले पनि बिहानै फोन गरेर सपनासँग खुसी साटे।

बिहान खबर थाहा पाइसकेपछि सपनाकी आमाले हर्षले खाना खाएकी छैनन्। सपनालाई पनि रुन मन लाग्यो, खुसीले।

‘यो काम गर्न सहज कहाँ थियो र तर मनैदेखि लागेर गरियो, कतिपयले त हामीलाई सहयोग उठाएर खानलाई यो काम गरिरहेका छन् पनि भन्छन्। यी चुनौतीबीच पाएको यो खुसी भनिसाध्य छैन,’ सपनाले नेपालखबरसँग फोनमा भनिन्।

‘मैले त काम सुरु गरेकी मात्रै न हुँ। तर मलाई निरन्तर हौसला दिने हाम्रो टिम छ, टिमको मेहनत छ,’ सपना भन्छिन्, ‘हाम्रो मेहनतलाई तपाईंहरुले आज विश्वसामु पुर्‍याइदिनु भयो, यो खुसी त्यसैको परिणाम हो।’

sapana_magar12.jpg

सपनाले सायदै सोचेकी थिइन्, सबैले छिछि र दूरदूर गर्ने काम अंगालेर यत्रो सफलता हात लाग्ला।

काम गर्ने क्रममा धेरै ठाउँमा सपनालाई मान्छेहरु सोध्थे, ‘यस्तो काम गर्न तिमीलाई घिन लाग्दैन? महिला भएर पनि यस्तो काम के गरेको?’

तर यस्ता प्रश्नले सपनालाई रोक्न त के अलमल्याउन पनि सकेनन्। उनी आफ्नो बाटोमा निरन्तर अगाडि बढिरहिन्।

यो पनि : विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि, जो पशुपतिमा शव जलाउँछिन् (भिडिओ)

कुनैदिन परिवारले उनलाई तिरस्कार गर्‍यो। कुनै दिन आफैंले आफूलाई तिरस्कार गरिन् र आत्महत्याको बाटो समेत देखिन्। तर त्यो बाटोमा पाइला चाल्नुपहिले नै उनले जीवनतर्फको नयाँ बाटो समातिन्। जसले उनलाई यहाँसम्म ल्याइपुर्‍यायो।

बेवारिसे शव जलाउन थालेपछि समाजले हौस्याउन थाल्यो। सपनाको चर्चा पनि चुलिन थाल्यो।

सडकमा बेवारिसे भएर डुलेकी सपनाका लागि घरको ढोका खुलिसकेको थिएन। पोखरा र बुटवलका सडकबाट उठेर काठमाडौं आएकी सपनाको विनयजंग बस्नेतसँग भेटभयो। बस्नेतलाई उनी बुबा मान्छिन्। बस्नेतले यो काम तिमीले गर्नुपर्छ भनेर हौस्याउन थाले। अनि सपना यही सेवामा रमाउन थालिन्।

‘समयले मान्छेलाई डोहोर्‍याउने रहेछ, हिजो म राम्रो परिवारमा थिएँ। पछि सडकमा पुगें तर त्यही सडकबाट उठेर बेवारिसे शवको काम थालेपछि मसँग आज परिवार पनि छ, समाजको पनि साथ पाएकी छु। यो सबै समयको खेल रहेछ’, सपना भन्छिन्।

यो पनि:  सपना अर्थात् बेवारिसे शवका वारिस (भिडियाे)

उनले पढाइ बीचैमा छाडेकी थिइन्। अब फेरि स्कुल फर्किने उनको योजना छ।

‘अब कक्षा ११ मा भर्ना हुन्छु र पढाइलाई अगाडि बढाउँछु, कामलाई त निरन्तरता दिन्छु नै,’ उनी भन्छिन्।

लकडाउनभरी पनि राजधानीका सडकमा बेवारिसेहरुलाई खाना खुवाउथिन् सपना। दसैं मान्न घर गएकी उनले तिहारपहिले चितवन पुगेर यस्तै काम गरिन्। तिहारमा घर गएकी उनी केही दिनमा काठमाडौँ आउँदैछिन्।

‘त्यसपछि फेरि बेवारिसे शव व्यवस्थापनको कामलाई निरन्तरता दिन्छु,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .