छापा खबर


‘रअ’ प्रमुख गोयलले चर्काएको नेकपा विवाद व्यवस्थापन गर्न मञ्चमा देखापरिन् चिनियाँ राजदूत यान्छी!

‘रअ’ प्रमुख गोयलले चर्काएको नेकपा विवाद व्यवस्थापन गर्न मञ्चमा देखापरिन् चिनियाँ राजदूत यान्छी!

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ०:११,

नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ।

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको आगमनसँगै चर्किएको नेकपा विवाद व्यवस्थापन गर्न चिनियाँ राजदूत हाउ यान्छी मञ्चमा देखापरेकी छिन्।

मंगलबार राति साढे १० बजे यान्छी बालुवाटारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन्।

१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो । राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । १८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् ।

१६ असारमा नेकपामा नेताहरूले फेरि पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा तनाव सुरु भएको थियो । २५ असारमा उनले प्रचण्डसँग भेट गरेकी थिइन् । त्यसअगाडि उनले २१ असारमा नेता नेपालसँग र २३ असारमा खनालसँग भेट गरेकी थिइन् । त्यसवेला राजदूत यान्छीले प्रधानमन्त्री ओलीसँग पनि भेटेकी थिइन् । यही पृष्ठभूमिमा यान्छी फेरि सक्रिय भएकी छिन् ।

चिनियाँ राजदूत हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए।

पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पु¥याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ।

राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी छिन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad