समाज


‘संक्रमितको उपचार गर्दै जाँदा आँट पनि बढ्दै गयो’

‘संक्रमितको उपचार गर्दै जाँदा आँट पनि बढ्दै गयो’

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १०:५५,

नेपालमा पनि कोभिड–१९ को संक्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो। अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो। भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीलाई पनि संक्रमितको उपचारमा सहज बनेको थियो। उपचार संलग्न स्वास्थ्यकर्मीले विश्व स्वास्थ्य संगठनको कोभिड–१९ सम्बन्धी मापदण्ड र तालिमले संक्रमितलाई उपचारमा सघाएको बताउछन्। बिरामीलाई उपचार गर्दै जाँदा सिकेको अनुभव उपचार गर्न दक्षता हासिल आफूहरुले गरेको उनीहरुको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा. सागरराज भण्डारीले सुरुसुरुमा बिरामीको शय्यासम्म जान डराएकोमा पछि शय्यासम्म पुगेर बिरामीलाई मुसार्ने छुने गरेको बताए। ‘शुरुमा के कसरी उपचार गर्ने भन्नेमा थियो। पछि विश्व स्वास्थ्य संगठन मापदण्ड र तालिम लिएपछि सिक्दै ग¥यौँ र उपचार गर्न पनि अभ्यस्त भयौँ’, उनले भने, ‘त्यसपछि त हामीले अन्य बिरामीलाई जस्तै संक्रमितका बिरामीलाई उपचार गर्न थाल्यौँ।’ उनले नेपालमा दोस्रो संक्रमित देखिएपछि आफूहरु योजना बनाएर बिरामीको उपचार गरेको अनुभव सुनाए। ‘पहिलो संक्रमितलाई हामीले उपचार गर्दा खासै योजना बनाए थिएनौँ’, उनले भने, ‘जब दोस्रो संक्रमित फेला परे अनि हामीले उपचारको लागि योजना बनाएको थियौँ।’

सरकार नै संक्रमितको दैनिक बढ्न थालेपछि उपचार गर्ने अस्पताल भनेर छुट्टाएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा शुरुमा संक्रमितको उपचार गरिएकोे तर पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालले पनि संक्रमितको उपचार गर्न थालियो।

यस्तै सशस्त्र प्रहरी अस्पतालका डा प्रविन नेपालले अस्तापलका स्वास्थ्यकर्मी सुरुसुरुमा कोभिड–१९ का संक्रमितको उपचार गर्न डर मानेको बताए। आफूले सरुवा रोगका अन्य बिरामीलाई पहिले उपचार गरे पनि कोभिड–१९ का बिरामीलाई भने उपचार गर्दा अलिअलि डर हुने गरेको बताए। पछि स्रोत साधन उपलब्धता र तालिम लिएपछि संक्रमितको उपचार गर्न कोही स्वास्थ्यकर्मी नहिचकिचाएको उनको भनाइ छ।

‘मैले कोभिड–१९ अगाडि क्षयरोग, एचआइभी, फ्लु, डेंगुजस्ता सरुवा रोगको पनि उपचार गरेको थिए’, उनले भने, ‘शुरुमा कोभिड–१९ को कसरी उपचार गर्ने भन्ने अलमल र डर हुन्थ्यो। पछि तालिम लिएपछि र बिरामीको उपचार गरेपछि सिक्दै गयौँ।’ उनले इटाली युरोपमा भएका साथीसँग समन्वय गरेर पनि अस्पतालमा आउने संक्रमितको सफल उपचार गरेको अनुभव सुनाए। ‘सुरुसुरुमा के होला? संक्रमितलाई कसरी शय्यासम्म पु¥याउने होला? के कसरी गर्ने भन्ने दुविधा थियो?, उनले भने, ‘तरपछि तालिम र विदेशका साथीसँगको समन्वयमा उपचार गर्न सिकियो। अहिले त सामान्य जस्तो लाग्छ।’

उनले व्यक्तिगत सुरक्षा कवच (पीपीई) लगाएर कोभिड–१९ को संक्रमण नसर्ने भएपछि स्वास्थ्यकर्मीले जति पनि संक्रमितको उपचार गर्नसक्ने बताए। पहिलेपहिले संक्रमित पनि उपचार गर्न आउँदा आत्तिने, डराउने गरेका थिए तर अहिले त्यस्तो समस्या नभएको उनको भनाइ छ। अस्पतालका डा नेपालले पहिले दिनमा एक पटकमात्र भेट्ने बिरामीलाई अहिले दैनिक चार–पाँच पटक भेट्ने गरेको बताए।

अस्पतालले तीन सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो। कोभिड–१९ का संक्रमितलाई हेर्ने, क्यारेन्टिनमा बसेका र अरु सामान्य बिरामीलाई हेर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको थियो। अहिले बलम्बुमा १०९ जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ६० जनालाई अक्सिजन र छ जना भेन्टिलेटरमा छन्।

कोभिड–१९ अस्पताल वीरअस्पतालको कोभिड–१९ को सघन उपचार कक्ष (आईसीयू)मा कार्यरत नर्स मुना पोखरेललाई पनि सुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर लाग्यो। न्यूरो वार्डमा काम गरिरहेको पोखरेललाई कोभिड–१९ वार्डमा सरुवा गरेपछि संक्रमितको कसरी काम गर्ने होला भनेर डर लागेको थियो।

‘संक्रमण फैलिरहेको थियो। त्यही बेला मलाई अस्पतालले कोभिड–१९ वार्डमा काम गर्न पठाइयो। अस्पतालले भने पनि जानै प¥यो”, उनले भने, ‘म पनि अब संक्रमित हुन्छु। अब घर जान पाइन्न भनेर डर लागेको तर पछि बिरामीको सेवा गर्न पछि पर्न हुन्न भन्ने आफूमा आँट आयो। अनि कोभिड–१९ को आईसीयू संक्रमितको उपचार गर्न थाले।’ सुरुसुरुमा अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्री व्यक्तिगत सुरक्षा कवच (पीपीई), मास्क, पञ्जालगायत नभएको हुनाले संक्रमितको उपचार गर्न समस्या परेको उनको अनुभव छ।

उनले पछि पर्याप्त मात्रामा स्वास्थ्य सामग्री भएपछि संक्रमितको उपचार गर्न केही समस्या नभएको बताए। ‘सुरुमा अस्पतालको पनि व्यवस्थापन थिएन। कसरी बिरामीलाई हेर्ने हो केही जानकारी थिएन। त्यसैले काम गर्न समस्या थियो’, उनले भने, ‘पछि सामग्री पनि पर्याप्त हुन थाल्यो। संक्रमितको उपचार गर्दै जाँदा आँट पनि आयो। बिरामीको राम्रोसँग उपचार गर्न सक्षम भएँ।’

उनले आफू कोभिड–१९ को आईसीयू वार्डमा काम गर्ने जानकारी आफ्ना बुबाआमालाई समेत गराएर केही हुँदैनन् भनेर आफैँले सम्झाए। बुबाआमाले पनि केही भन्नु भएन। तीन महिनादेखि कोभिड–१९ आइसियु वार्डमा काम गरिरहनुभएका पोखरेलसँगै धेरै काम गर्ने स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमित भइसकेका छन् तर उनी निरन्तर संक्रमितको उपचार गर्दा पनि आफूँ भने संक्रमित भएका छैनन्।

दशैँ पनि अस्पतालमा संक्रमितसँगै मनाएका उनी तीन महिनादेखि अस्पतालमा उपलब्ध गराएका होटेलमा बस्दै आएका छन्। ‘संक्रमितको उपचार गर्दा म पनि संक्रमित हुन्छु जस्तो लागेको थियो तर होसियारपूर्वक काम गर्दा अहिलेसम्म म संक्रमितत भएको छैन’, उनले भने, ‘अहिले म निर्धक्क भएर काम गर्न सक्ने भएको छु।’ नेपालमा अहिलेसम्म एक लाख ९७ हजार २४ संक्रमित भइसकेका छन्। यस्तै एक लाख ५९ हजार ७२४ निको र एक हजार १२६ जना संक्रमणबाट निधन भएको छ।

यस्तै वीरअस्पतालको कोभिड–१९ का संक्रमित रहेको वार्डमा सरसफाइ गर्ने महेश्वरी परियार पनि स्वास्थ्यकर्मी जस्तै सरसफाइ गर्न डराइन्। उनप्सँगै सरसफाइमा काम गर्ने केही कर्मचारीले पनि आफूहरुलाई पनि संक्रमण हुन्छ, मरिन्छ अब काम गर्न सकिँदैन भनेर जागिर छोडौँसमेत भनेको स्मरण गरिन्। तर, पछि केही साथीले होइन यस्तो बेला काम गर्नुपर्दछ भनेपछि आफूहरुले काम गर्न थालेको उनले बताइन्।

‘मसँगै अन्य साथीलाई कोभिड–१९ वार्डमा सारेपछि अब संक्रमण हुन्छ भनेर हामीलाई डराएका थियौँ’, उनले भने, ‘केही साथीले जागीर छोडेर घर जाउसमेत भने तर केहीले यस्तो बेला काम गर्नुपर्दछ भनेर काम गरौँ। पीपीई, पञ्जासहित सावधानी भएर काम गर्दै जाँदा डराएनौँ। संक्रमितको नजिक जाँदा सामान्यजस्तो लाग्छ।’ चार महिनादेखि कोभिड–१९ का संक्रमितका सरसफाइमा रहेका उनी संक्रमित पनि भए। संक्रमण भएपछि निको भएर पुनः संक्रमितकै सरसफाइमा खटिनु भएको छ।

‘संक्रमित भएपछि निको भएपछि म नियमित सरसफाइमा छु’, उनले भने, ‘अहिले संक्रमितको वार्डमा छु कि अरु वार्डमा छु केही जस्तो लाग्दैन। आफू सुरक्षित भएर काम गरेपछि केही हुँदैन।’ संक्रमितको वार्डमा काम गर्न थालेपछि उनी विगत तीन महिनादेखि घर नगई होटेलमा बसेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad