समाज


पहिलोपल्ट लुम्बिनीमा परम्परागत नेपाली बौद्ध कला–संस्कृति झल्कने बिहार बन्दै

पहिलोपल्ट लुम्बिनीमा परम्परागत नेपाली बौद्ध कला–संस्कृति झल्कने बिहार बन्दै

प्रकाश न्यौपाने
कात्तिक २२, २०७७ शनिबार १३:०,

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपल्ट परम्परागत तथा बौद्ध कला–संस्कृति झल्कने गरी नेपाली बिहार निर्माण गरिँदैछ।

जनस्तरबाट सहयोग रकम संकलन गरी नेपालीहरुकै लागतमा बौद्ध परम्परागत कला–संस्कृति झल्कने गरी लुम्बिनीमा नेपाली बिहार बनिरहेको हो। नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाबिहार निर्माण गर्न लागेको हो।

२०६८ सालमा लुम्बिनी विकास कोषबाट जग्गा प्राप्त भएपछि बिहार निर्माण सुरु गरिएको हो। बुद्ध धर्ममा भिक्षुहरु बस्ने स्थानलाई बिहार भनिन्छ।

No description available.

‘लुम्बिनीमा दर्जन बढी बिहार भए पनि सबैमा विदेशी लगानी छ। नेपालीहरुको मात्रै लगानीको छुट्टै बिहार छैन। अर्कातर्फ ती बिहारहरुमा नेपाली मौलिकता झल्कँदैन’ संस्थाका उपाध्यक्ष एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन मानिकरत्न शाक्यले भने, ‘विदेशी लगानी रहेपछि उनीहरुले आफ्नै देशको कला–संस्कृति झल्कने गरी बिहार बनाएका छन्। त्यसैले हामीले आफ्नै देशको कला–संस्कृति र परम्परा झल्कने बिहार बनाइरहेका छौं।’

यहाँ निर्माण भइरहेको बिहार नेपाल मण्डलभित्रको परम्परागत बौद्ध बिहारहरुको शैलीमा बनिरहेको छ। ललितपुर र भक्तपुरमा लिच्छवीकालदेखि नै यस्ता किसिमका बौद्ध बिहारहरुको निर्माण हुँदै आएको छ। यो बिहारमा बौद्ध परम्पराअनुसार धातुकला, काष्ठकला, मूर्तिकला, पस्टरकला, स्तिकाकला लगायतको प्रयोग गरिएको छ।

यो बिहार निर्माणको मूल दर्शन भनेको बज्रधातु मण्डलको परिकल्पना हो। त्यसैले यो बिहारलाई बज्रधातु मण्डलको माथि बनाइएको बौद्ध बास्तुकला पनि भन्ने गरिन्छ। ‘विदेशी लगानीमा बनेका बिहारमा छुट्टै किसिमको कला प्रयोग गरिएको छ, त्यसको अर्थ फरक होला तर यो बिहारमा भएका जति पनि कलाकृति छन्, तीनीहरु सबै बौद्ध ग्रन्थ र शास्त्रमा आधारित छन् । यो नेपालको आफ्नै किसिमको बास्तुकला हो। ती कलाहरुले नेपालको आफ्नै पहिचानलाई प्रस्तुत गरेको छ’, शाक्यले भने।

यो नेपाली बिहार निर्माण सम्पन्न भइसकेपछि यहाँ पुग्ने जो कोहीले बुद्धको जन्मभूमिमा पुगेको महसुस गर्न सक्ने निर्माणाकर्ताको दावी छ। शाक्य भन्छन्, ‘यहाँ नेपाली मौलिक कला र संस्कति जीवन्त देख्न सकिन्छ।’ काठ, ढुंगा र विभिन्न धातुलाई कुदेर मनमोहक नेपाली तौतरिकाको डिजाइन गरी बिहार बनाइँदैछ। ढोका र झ्यालको विभिन्न ठाउँमा ससाना बुद्धको मूर्ति चिटिक्क पारेर कुदिएको छ।

‘लुम्बिनी बुद्धको जन्मभूमि, नेपालको आफ्नै थलो हो। तर, यो स्थानमा नेपालकै बौद्ध बास्तुकला झल्कने बिहार निर्माण भएको पाइँदैन। त्यसैले यो स्थानमा नेपालकै बौद्ध र बास्तुकला झल्काउने उद्देश्यले बिहार निर्माण गरिरहेका छौं’, उपाध्यक्ष शाक्यले भने।

No description available.

दुई तल्लाको यात्रु निवास निर्माण गरिसकिएको छ। दुई तल्लाको बिहारको पहिलो तल्लामा गजुरा, छाना, क्जाःपाद्यो बुद्धमूर्ति कुदिएर बनाइसकिएको छ। नेपाली परम्पराअनुसारको इटा प्रयोग गरी भवन बनाइएको छ। बज्रधातु मण्डल, बज्रधातु चैत्य, शारीपुत्र मौद्गल्याण मूर्ति, ५ फिटको बज्रसत्व, सहस्रभुज लोकेश्वर, दीपंगर तथागत, महाकाल मूर्ति, ढुंगामा कुदिएको सिंह मूर्ति बनाएर मूल ढोकाअघि २ थान र भित्रपट्टी २ थाना चिटिक्क सिंगारेर राखिएको छ। दोस्रो तल्लामा झ्याल, ढोका राख्ने र फिनिसिङको काम बाँकी छ।

काष्ठकलाकर्मीहरुले नेपाली कला–संस्कृतिअनुसार डिजाइन तयार पार्ने काम गरिरहेका छन्। मूल ढोका र बाहिरी झ्याल नेपाली परम्परा झल्कने गरी बनाइसकिएको काष्ठकलाकर्मी तथा मूर्तिकार अनिल शाक्यले बताए। उनले बिहारको प्रांगणमा बज्रधातु चैत्य र क्वाःपाद्यो मूल ढोका र दायाँबायाँ आँखी झ्याल बनाइएको जनाए। ‘यो विशुद्ध नेपाली मौलिक परम्परामा बनाइएको बिहार हो। यहाँ आउने पर्यटकले छिट्टै हाम्रो परम्परा र कला संस्कृति देख्न सक्नेछन्’, उनले भने।

बिहार निर्माण समितिका कोषाध्यक्ष पञ्चवीर सिं तुलाधरकाअनुसार अहिलेसम्म जनस्तरबाट १२ करोड सहयोग प्राप्त गरी उक्त रकम निर्माणमा खर्च गरिएको छ। यस्तै बिहार निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार र कुमारी बैंकबाट ५ लाख सहयोग भएको छ। अहिलेसम्म बिहार निर्माणमा कुल १४ करोड ५९ लाख भन्दा बढी खर्च भइसकेको छ। निर्माण सम्पन्न गरी संचालनमा ल्याउन करिब २० करोड रुपैयाँ लाग्ने तुलाधरले जानकारी दिए।

No description available.

बिहार निर्माण सम्पन्न पछि दैनिकरुपमा नेपाली र बौद्ध परम्पराअनुसार पुजापाठ हुने छ। यस्तै, सर्वसाधरण र लुम्बिनी आउने पर्यटकका लागि यो बिहार खुला गरिने छ । लुम्बिनीमा पहिलोपल्ट आफ्नै परम्पराअुसार बिहार बनिरहेकाले यसको महिमा थप बढ्नुका साथै आन्तरिक पर्यटकको रोजाई यो बिहार बन्ने निर्माणकर्ताको विश्वास छ। आगामी तीन वर्षभित्र बिहार निर्माण गरिसक्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .