समाज


नेपालमा परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोरोना, चिसो मौसम र चाडपर्वको कारण संक्रमण अझ फैलिँदै

नेपालमा परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोरोना, चिसो मौसम र चाडपर्वको कारण संक्रमण अझ फैलिँदै

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ४:२१,

चाडपर्वमा भएको आवतजावत र चिसो मौसमको कारण अबको ढेड/दुई महिना नेपालमा कोरोना संक्रमण तीब्र गतिमा बढ्ने चेतावनी विज्ञहरुले दिएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेका अनुसार केही समययता परीक्षण गरिएकामध्ये एक चौथाइमा संक्रमण देखिन थालेको छ। ‘यसले कोरोना संक्रमणको रफ्तार अबको केही समय नथामिने अवस्था छ,’ पाण्डेले भने, ‘चाडबाडमा भएका आवतजावत र जाडो मौसमको कारण अब संक्रमण अझ बढ्छ। मानिस आफै सचेत नभए भाइरस झनै फैलिने खतरा छ।’

नेपालमा जतिजति परीक्षण बढाइएको छ, उतिनै संक्रमणको दर पनि बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये अहिले झण्डै २५ प्रतिशतमा संक्रमण देखिन थालेको छ। ‘यो आँकडा अत्यन्तै डरलाग्दो हो। अब नागरिक सचेत नबने अवस्था झन् जटिल बन्न सक्छ,’ पाण्डेले भने।

 नेपालमा गत वर्ष माघमा पहिलो संक्रमण देखिएको थियो। सुरुसुरुमा कोरोना संक्रमणप्रति आम नागरिकमा त्रास र सावधानी बढी नै थियो। तर, पछिल्लो समय मानिसहरुले कोरोना संक्रमणलाई सामान्य रुपमा लिन थालेका छन्। यसले पनि संक्रमण अझ फैलिँदै जाने जोखिम बढेको विज्ञहरुको भनाई छ।

६ महिनाअघिसम्म नेपालमा देखिएका संक्रमितमा लक्षण नै थिएन। तर, पछिल्लो सयम काठमाडौं उपत्यकामा झण्डै २५ प्रतिशतमा लक्षणसहितको संक्रमण देखिएको छ।

संक्रमण फैलिँदै जाँदा सरकार भने नागरिकको स्वास्थ्यप्रतिका आफ्नो दायित्वबाट पछि हट्दै गएको छ। केही समययता कन्ट्याक्ट ट्रेसिङ हुन छाडेको छ। स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको स्वाब मापदण्डविपरीत भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण नै गर्न छाडेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिकमा निश्चित समूहको मात्रै सिफारिसका आधारमा निःशुल्क पीसीआर गर्ने घोषणा गरेपछि स्थानीय तहले पनि स्वाब संकलन गर्न छाडेका छन्।

कोरोना संक्रमितको उपचार संक्रमित आफैँले गर्नुपर्ने सरकारी निर्णयपछि सरकारी अस्पतालहरुले पनि संक्रमितसँग उपचारबापत चर्को शुल्क धरौटी माग्न थालेका छन्। टेकु, टिचिङ, पाटन, धुलिखेल लगायतका अस्पतालले नै उपचारवापत लाखौं रुपैयाँ धरौटी माग्न थालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad