सिराहाको कर्जन्हा नगरपालिका-३ की ९० वर्षीया सुदामादेवी साहलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिटसहित दिसा खुवाउने प्रयास गरेका छन्।
गएको बुधबार कान्छा छोरा रामऔतार साहले गाउँलेकै अगाडि आफ्नी आमालाई कुटपिट गर्दै दिसा खुवाउने प्रयास गरेका हुन्।
घाँटी थिचेर कुटपिट गर्दा वृद्धा गम्भीर बिरामी परेकी छन्। उनलाई जनकपुरमा लगेर उपचार गरिएको छोरी जानकी साहले बताइन्।
दुई छोरा छुट्टिएर गएपछि सुदामादेवी घरमा एक्लै बस्ने गरेकी थिइन्। कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा भएको घाउ भएपछि रामऔतारले आमा बोक्सी लागेकाले घाउ भएको भन्दै दुव्र्यवहार गरेका गाउँलेहरुले बताएका छन्।
‘दुई दाजुभाइकै मिलेमतोमा आमालाई दिसा खुवाउने तयारी भइरहँदा वडाध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेकाले जघन्य अवराध हुन पाएन,’ छोरी जानकीले भनिन्, ‘प्लास्टिकमा घोलेर ल्याइएको दिसा खुवाउने तयारी हुँदै गर्दा प्रहरी पुगेकाले घटना हुन पाएन।’
घटनास्थलमा प्रहरी पुगेपछि स्थानीयको सहयोगमा वृद्धलाई जनकपुर लगेर उपचार गरिएको छ।
‘कुटपिट गर्दा आमाको घाँटी थिचिएको छ, घाँटीको हड्डी मोडिएको छ,’ छोरी जानकीले भनिन्, ‘तर वृद्ध उमेर भएकाले हड्डी पहिलाको ठाउँमा आउँदैन भनेर अस्पताले डिस्चार्ज गरिदियो।’ अस्पतालबाट फर्किएकी सुदामादेवी अहिले आफ्नै घरमा छिन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले छोरा रामऔतार साहलाई पक्राउ गरेको छ। घटनापछि फरार छोरा रामऔतारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे पक्राउ गरेको हो।
‘छोरा रामऔतार पक्राउ परेका छन्। उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ,’ सिरहाका प्रहरी उपरीक्षक उमाशंकर प्रसाद पजियारले नेपालखबरसँग भने, ‘घटनाको विषयमा थप अनुसन्धान अघि बढाएका छौं।’

प्रतिक्रिया