ad ad

समाज


स्मार्ट लाइसेन्स धानखेतमा, कार्यालयमा नभेटिँदा सेवाग्राही हैरान

स्मार्ट लाइसेन्स धानखेतमा, कार्यालयमा नभेटिँदा सेवाग्राही हैरान

शैलेन्द्र महतो
कात्तिक १३, २०७७ बिहिबार ६:४६,

केही दिनअघि मात्र जनकपुरधाम उपमहानगरपालिका ८ का उमेश कुमार महतो आफ्नो स्मार्ट लाइसेन्स लिन यातायात कार्यालय गएका थिए।

उनको अगाडि र पछाडी दुवैको स्मार्ट लाइसेन्स आइसकेको थियो तर उनको स्मार्टकार्ड कार्यालयमा थिएन। उनलाई कार्यालयका कर्मचारीले निकै दौडधुप गराए।

‘दुईदिनको दौडधुप र परेसानीपछि पनि मेरो स्मार्टकार्ड भेटिएन। अन्तमा एकजना कर्मचारीले कार्यालयबाट फेरि यातायात व्यवस्था विभागमा निवेदन पठाइदिने र आएपछि लिन आउनु होला भनि फर्काए’ उमेशले नेपालखबरसँग भने।

उमेश एक उदाहरण पात्र मात्र हुन्। उनी जस्ता कयौं सर्वसाधारण आफ्नो स्मार्टलाइसेन्स लिन आउँछन्। लाख कोशिश गर्दा र हैरानी हुँदा नभेटेपछि निराश भएर फर्केर जाने गर्दछन्।

तर कार्यालयमा भेटिनुपर्ने लाइसेन्स धान खेतमा फालिएपछि कसरी भेट्नु?

हो, जनकपुरको यातायात व्यवस्था कार्यालयमा भेटिनुपर्ने तीनसय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित रहेको यातायात व्यवस्था कार्यालयभन्दा करिब दुईसय मिटर पूर्व धान खेतमा झण्डै तीन सय लाइसेन्स फेला परेको हो।

धान काट्न गएका महिलाहरुले तीन सय स्मार्ट लाइसेन्स फेला पारेको यातायात व्यवस्था कार्यालय जनकपुरका अधिकृत बिरेन्द्र साहले जानकारी दिए। यत्रतत्र छरिएर रहेको अवस्थामा स्मार्टकार्ड महिलाहरुले संकलन गरी ल्याएर कार्यालयलाई बुझाएका छन्।

कसैले उक्त लाइसेन्स लगेर रिसीबी साँध्न फालेको हुन सक्ने उनको भनाइ छ। यातायात कार्यालयका कर्मचारीको सेटिङमा बिचौलियाहरुको प्रभाव बढी रहेको छ। बिचौलियाले आफूखुसी फाइलहरु खोज्ने काम गर्ने गराउने गर्दछन्।

यातायात व्यवस्था विभागबाट बनाएर आएको स्मार्ट लाइसेन्स लिन सर्वसाधारण जाँदा नभेटिने गुनासो सुनिन्छ।

यातायात कार्यालयका प्रमुख विपीन लालकर्णले लाइसेन्स धानखेतमा भेटेको जानकारी आफूले पाएको बताए। तर के कसरी धानखेतमा लाइसेन्स पुग्यो भन्ने कुराको खोजबिन गर्ने उनको भनाइ छ। हाल उनी काठमाडौंमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .