ad ad

समाज


कोरोना संक्रमण सुरु भएयता उपत्यकामा आयुर्वेदिक औषधिको माग ह्वात्तै बढ्यो

कोरोना संक्रमण सुरु भएयता उपत्यकामा आयुर्वेदिक औषधिको माग ह्वात्तै बढ्यो

नेपालखबर
असोज २७, २०७७ मंगलबार २३:३५,

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ।

सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्णलगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन्।

विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिक रुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यस वर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ,’ उनले भने।

समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोकामात्र बिक्री भएको थियो। यस वर्ष छ हजार ३८८ पोका गइसकेको छ। यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ।

गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको छ। कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ।

मागअनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ। कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन्।

‘गुर्जोसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जोसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जो पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जो जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जो र अमलासँगै लगाउनुपर्छ,’ उनले भने।

उनका अनुसार उपत्यकामा वाग्मतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जो रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन। व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ। समितिले गुर्जोको चिया कोभिडपछि बनाएको हो।

विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो। गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पुर्‍याउँछ भनी अनुसन्धान सुरु गरेको छ। परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालिम सकी अरु काम अघि बढेको बताउँछन्।

केन्द्रमा लगिएका सबै सङ्क्रमित निको भए
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन्। केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले जानकारी दिए।

केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ। तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ। यहाँ आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ। केन्द्रमा २०० जना सङ्क्रमित राख्न सक्ने क्षमता छ।

आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गरेका डा शेषराज आचार्य रुघाकै प्रकृतिको रोग तथा सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउँछन्।

रोग प्रतिरोधी क्षमता भएकाले यसले धेरै असर गर्दैन। सङ्क्रमण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जोको धुलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उनले बताए।

आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनको भनाइ छ।

कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहेका आयुर्वेद विभागका पूर्वमहानिर्देशक आचार्यले जानकारी दिए। 

गुर्जोको निःशुल्क वितरण तीव्र राजधानीमा कोरोनाको फैलावटसँगै गुर्जोको बिरुवा, धुलो र चिया निःशुल्क वितरण गर्ने अभियान पनि तीव्र भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .