२०७७ असार १४ गते दाङकी अनिता रैदास हिमालयन बैंकको शाखामा पुग्छिन्। हतास मुद्रामा देखिएकी अनिताले त्यहाँ १२ लाख रुपैयाँ दुर्गाबहादुर श्रेष्ठको नाममा जम्मा गर्छिन्। तर रकम जम्मा गर्नुको कारण खुलाउँदिनन्। १० लाखभन्दा माथिको रकमको श्रोत र कारण प्रस्ट खुलाउनु पर्ने व्यवस्था छ।
अनितालाई बैंकका कर्मचारीले सोधोखोजी गर्न थालेपछि मात्रै उनले वास्तविकता खोलिन्। उनका श्रीमान् मध्म रैदास मलेसियामा अपहरणमा परेको र १७ लाख २८ हजार रुपैयाँ जम्मा नगरे उतै सडाइदिने धम्की आएको बताउँछिन्।
उनले वास्तविकता बताएपछि बैंकका कर्मचारीले सल्लाह गर्छन्। केन्द्रीय बैंकसम्म कुरा पुगेपछि उनको त्यो रकम दुर्गाबहादुर श्रेष्ठको खातामा जम्मा हुन्छ। केन्द्रीय बैंकमार्फत यो सूचना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीसम्म पुग्छ।
बैंकले उक्त रकम जम्मा गरिदिए पनि रोक्का राख्छ। रकम रोकिएको र प्रहरीले घटना थाहा पाइसकेको अनितालाई भने थाहा हुँदैन। उनी श्रीमानलाई विदेशमै मारिदिने डरले यी कुरा खुलाउन चाहँदिनन्।
सीआईबीले भने यो घटना अनुसन्धानका लागि डीएसपीको कमान्डमा टोली खटाइसकेको थियो। अनिता फेरि २ दिनपछि दाङको उक्त शाखामा गएर थप रकम जम्मा गर्छिन्– एक पटक ३ लाख र अर्को पटक ९२ हजार। त्यो रकम पनि बैंकले रोक्का गर्छ।
सीआईबीले भने विदेशमा रहेका रैदास र उनकी श्रीमतीसँग पीडित बनेर सम्पर्क बढाउँछ। आफूपनि दुर्गाबहादुरबाट पीडित रहेको बताएपछि अनिता र मध्म आफ्ना पनि पीडा सुनाउन थाल्छन्। तर त्यस क्रममा पनि उनीहरु दुर्गाबहादुरविरुद्ध जाहेरी दिने हिम्मत भने गर्दैनन्।
दुर्गाबहादुरले अनितालाई भनेका थिए, यो मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ। त्यही भएर उनले प्रहरीलाई भनिनन्। बरु १२ लाख रुपैयाँ ऋण काढेर फिरौती रकम बुझाइन्। उनले फिरौती बुझाएपछि साहुले बन्धक बनाएका रैदास चोरेको रकम फिर्ता गरेको हो भन्ने कागज गरेर छुटे।
मलेसियामास्थित नेपाली दूतावासमा पनि यही कागज गरेर साहुले कम्पनीमा फर्काए। कम्पनीमा फर्किएपछि रैदास पहिले झैं काममा लागे। ऋण लागेपनि अनिता श्रीमान् छुटेपछि यता ढुक्कले बसिन्, उजुरबाजुर केही गरिनन्। सीआईबीले भने आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको थियो।
सुरुमा पीडित भएर कुरा गरिरहेको प्रहरीले वास्तविक परिचय खोल्यो। अपहरणकारीलाई कारबाही गर्नका लागि जाहेरी दिन आग्रह गर्यो।
प्रहरीकै सहयोगमा लकडाउनकै बीच अनितालाई असोज ८ गते काठमाडौं ल्याइयो। ११ गते उनी दुर्गाबहादुरविरुद्ध जाहेरी दिन तयार भइन्। त्यहीदिन सीआईबीमा जाहेरी दर्ता भयो। प्रहरीले यसका लागि उनका श्रीमानलाई सहमत गराइसकेको थियो।
यता आफ्नो खाताको रकम रोक्का भएपछि दुर्गाबहादुर नेपाल आए। यहाँ व्यवसाय गर्ने तयारी पनि भइरहेको र श्रीमतीसँग पनि झगडा भएको कारण आफू नेपाल आएको दुर्गाबहादुरले बताएका छन्। असोज १३ गते उनी नेपाल आएको प्रहरीलाई जानकारी आयो।
त्यसैदिन उनी पक्राउ परे।
कामदार बनेर गए, साहु बनेपछि नेपालीमाथि नै अत्याचार गर्दा फन्दामा
२० वर्ष पहिले अदक्ष श्रमिकका रुपमा मलेसिया गएका मोरङका दुर्गाबहादुर श्रेष्ठ म्यानपावर सञ्चालक मात्रै भएनन्, मलेसियामा १५ वटा होटलका मालिक समेत भए।
यतिबेला अपहरणकारीका रुपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् उनी। यसअघि आफ्नै क्लासिक ओभरसिज म्यानपावर कम्पनीबाट श्रमिक लैजाने र मलेसियामा आफ्नै होटलमा काम दिने गर्थे।
तर डेभिड नामले चिनिएका दुर्गाबहादुरले काम दिए पनि दाम भने पूरै दिँदैनथे। नेपाली श्रमिकलाई ठग्थे। उनीबाट पीडित भएकाहरु यतिबेला एकपछि अर्को गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्न थालेका छन्।
ब्युरोमा उजुरी गर्नेको संख्या १२ पुगिसकेको छ। उता मलेसियामा पनि दुर्गाबहादुर पक्राउ परेकोमा धेरै नेपाली श्रमिक खुसी छन्। उनीहरु पनि दुर्गाबहादुरबाट पीडित थिए।
मलेसियामा काम गर्ने सिलसिलामा उनको भुटानी महिला धनमाया राईसँग प्रेमसम्बन्ध गाँसियो। धनमाया र दुर्गाबहादुर पहिले एउटै रेस्टुरेन्टमा काम गर्थे। सन् २०१२ मा उनीहरुको विवाह भयो।
मलेसियामा एआईजीदेखि नेपालमा सांसदसम्म कनेक्सन
मलेसियामा डेभिडको कम्पनीमा काम गर्ने भनेपछि स्थानीय प्रहरीले केही गर्दैनथ्यो। तर डेभिडले भनेपछि पक्राउ गरेर तत्कालै डिपोर्ट गरिदिन्थ्यो। उनको कम्पनीमा काम गर्ने धेरै नेपालीलाई दुर्गाबहादुरले प्रहरी लगाएर फसाएका छन्।
मलेसियाका प्रहरीको पूर्वएआईजीसँग दुर्गाबहादुरको राम्रो सम्बन्ध रहेको र उनले प्रहरीतर्फ सेटिङ गर्ने गरेको पाइएको छ।
स्थानीय गुण्डा र प्रहरी उनै पूर्वएआईजीले परिचालन गर्थे। दुर्गाबहादुरको हैसियत त्यहाँस्थित नेपाली दूतावासदेखि एनआरएनएका प्रतिनिधिलाई पनि थाहा थियो। दुर्गाबहादुरविरुद्धका उजुरी कसैले सुन्ने गरेका थिएनन्।
अपहरणबाट मुक्त भएपछि भागेर नेपाल आएका मध्म रैदास भन्छन्, ‘दुर्गाबहादुरले कति कुटे कुटे, भनेर साध्य छैन, तर कसैले उजुरी गर्ने आँट गर्दैनथे। दूतावासमा उजुरी गरेर पनि केही हुँदैन भन्ने सबलाई थाहा थियो।’
रैदासले भने आफैं भागेका थिए। डेभिड पक्राउ परेलगत्तै नेकपाका एक सांसदले फोन गरेर सीआईबीका प्रहरीलाई समेत घुमाउरो भाषामा धम्की दिए।
‘तपाईंलाई अप्ठेरो पर्ला, दुर्गाबहादुरलाई पक्राउ गर्नुभएछ, दूतावासमा सबै कुरा मिलिसकेको छ, राजदूतले अप्ठेरोमा पार्लान्,’ ती सांसदले भनेको एक प्रहरीले सुनाए।
ती सांसदको परिचय भने उनले खोल्न चाहेनन्।
नेपाली युवतीमाथि आफ्नै रेस्टुरेन्टमा अत्याचार
दुर्गाबहादुरबाट पीडित भएको भन्दै हालसम्म चार महिलाले जाहेरी दिएका छन्। काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक र चितवनका ती महिलाले आफूहरुमाथि दुर्गाबहादुरले अत्याचार गरेको बताएका छन्।
उनीहरु दुर्गाबहादुरको रेस्टुरेन्टमा काम गर्थे। दुर्गाबहादुरले ग्राहकसँग पठाउँथे र व्यापार बढाउन लगाउँथे। तर ग्राहकले एउटा गिलास फुटाएपनि उनीहरुको तलब काटिन्थ्यो।
‘रक्सी खाएपनि किन खाको भन्दै थर्काउने, नखाएपनि खाएर व्यापार बढाउनु पर्दैन भनेर थर्काउने,’ एक युवतीले सुनाइन्।
जब भिसा सकिन्छ तब दुर्गाबहादुरले अप्ठेरोमा पार्न थाल्थे। भिसा सकिएका श्रमिकलाई प्रहरीले पक्राउ गरेर जरिवाना तिराउँछ र डिपोर्ट गर्छ। दुर्गाबहादुर समयमा नेपाल फर्किन दिँदैनथे। भिसा सकिएपछि प्रहरी र गुण्डा लगाइदिऊँ भन्दै थर्काउँथे।
ती युवतीले भनिन्, ‘उसकोमा काम गरेर फर्किने कोही पनि खुसी छैनन्, सबैलाई तनाव दिएको छ।’
नेपाली श्रमिकमाथि अत्याचार गरेका दुर्गाबहादुर पक्राउ परे पनि उनकी श्रीमती धनमाया र गाडी चालक श्याम नेपाली मलेसियामै छन्।
उनीहरुविरुद्ध समेत प्रहरीमा उजुरी परेको छ।
प्रतिक्रिया