समाज


कोरोनालाई केन्द्रविन्दुमा राखेर प्रहरीले ल्यायो चाडबाड विशेष सुरक्षा योजना

कोरोनालाई केन्द्रविन्दुमा राखेर प्रहरीले ल्यायो चाडबाड विशेष सुरक्षा योजना

नेपालखबर
असोज २४, २०७७ शनिबार ८:४,

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन्।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए। केही दिनभित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागू हुने उनले जानकारी दिए।

‘प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ’, उनले भने, ‘यसपालि कोभिड–१९ को संक्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ।’

केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए।

यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ। प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ। सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ। मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। कोभिड–१९ संक्रमण रोक्ने योजनासमेत बन्नेछ।

उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी
काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ। उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ। अन्य जिल्लाबाट समेत आउने क्रममा छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए। ‘छलफल गरेर एक÷दुई दिनमै योजना लागू गर्ने तयारी छ, पोखरेलले भने, ‘चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को संक्रमण फैलन नदिने गरी योजना बन्ने छ।’

उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए। लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढंगले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ।

मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताउनुभयो । उनले यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए।

महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ। जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ।

आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ। सवारीका यात्रु ओर्लने÷उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ। आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad