समाज


कोरोना कहरसँगै काठमाडौंमा जताततै कोठा खाली

कोरोना कहरसँगै काठमाडौंमा जताततै कोठा खाली

यज्ञराज जोशी
असोज १८, २०७७ आइतबार १०:३,

समाजकल्याण सेवा नामक कम्पनीबाट घरबहाल लिने दिने कारोबार गर्दै आएका अमर पाण्डेले गत चैतमा लकडाउन सुरु हुनुअघि १९ वटा घर लिजमा लिएका थिए।

घर मालिकलाई एकमुष्ट रकम दिने उनको सम्झौता थियो। लिजमा लिएका घरहरु भाडामा लगाउने र उनीहरुबाट रकम उठाउने काम पाण्डे आफै गर्थे। लकडाउन सुरु हुनुअघि उनले लिजमा लिएका सबै घरमा बहालमा बस्नेहरु पनि थिए।

तर लकडाउन भएसँगै भाडामा बस्नेहरुले उपत्यका छाड्दा अहिले उनले लिजमा लिएका अधिकांश घरहरु खाली छन। उनले आफूहरुले बहालमा राख्नेमध्ये ७० प्रतिशत घर अहिले खाली भइसकेको बताए। घरहरु खाली भएपछि केही घरका घरबेटीसँग आफूले लिज सम्झौता तोडेको उनी बताउँछन।

उनी भन्छन्, ‘अधिकांश विद्यार्थीहरु लकडाउन सुरु भएपछि स्कुल, कलेज नै नलागेकाले फर्कदैँ फर्केनन। लामो समय त्यसै भाडा तिर्नुभन्दा उनीहरुले पनि कोठा खाली गर्दिनु भने। कतिपय त ५–६ महिनाको भाडा तिर्नुपर्ने भएपछि सम्पर्कविहिन नै भएका छन।’

उनको संस्थाले कोटेश्वर, महादेवस्थान, तिनकुने, शान्तिनगर, बानेश्वर, थापागाउँ, शंखमुल, बिजुलीबजार लगायत एरियामा कोठा लिने दिने काम गर्दै आएको छ।
कोरोना अघि काठमाडौंमा यी ठाउँहरुमा कोठा पाउनै मुस्किल पर्ने भएपनि अहिले सबैतिर सहजै कोठा पाउने अवस्था आएको उनी बताउँछन।

‘कम्पनीमा पहिले दैनिक कोठा खोज्नेका लागि एक दर्जन बढी फाराम भरिन्थे। फोन पनि लगातार बज्थ्यो,’ पाण्डेले थपे, ‘अहिले कोठा खोज्नेको मुस्किलले दुई तीनवटा फोन आउँछन। घर बहाल लगाइदिन भन्दै घरबेटीको फोन आउनेक्रम भने बढेको छ।’

कीर्तिपुर पाँगाका रवी महर्जनले आफ्नो घरको तल्लो तल्लामा रहेका चार कोठा भाडामा लगाएका थिए। सबै कोठामा विधार्थीहरु बहालमा बस्थे।

तर, लकडाउन सुरु हुनुअघि घर गएका विधार्थीहरुले कलेज कहिले सुरु हुने भन्ने नै निश्चित नहुँदा सबैले कोठा छाडे। अहिले उनका चारवटै कोठा खाली छन।

उनी भन्छन्, ‘मैले घर बनाएको ६ वर्षसम्म कहिल्यै कोठा खाली भएन। तर, यसपटक भने दुई महिनादेखि मेरो सबै कोठा खाली छन। कोठा खाली भएको सूचना पनि टाँसेको छु तर कोही पनि आउदैनन्।’

महर्जनले जस्तै अहिले काठमाडौंका धेरै स्थानका घरको बाहिर कोठा, फ्ल्याट खाली रहेको सुचना देख्न पाइन्छ। लकडाउन भएपछि घर गएका अधिकांश विधार्थीहरु स्कुल कलेज लाग्ने टुंगो नभएपछि कोठा खाली गर्ने गरेका छन।

यस्तै लकडाउनकै कारण व्यापार व्यवसाय चौपट भएपछि सटर खाली गर्नेहरुको संख्या पनि बढ्दो छ। यसअघि फ्ल्याटमा बसिरहेका मानिसहरु आफ्नो आम्दानी घटेपछि कोठा लिएर बस्ने गर्दा फ्ल्याटहरु खाली भएका छन।

अहिले विभिन्न स्थानमा कोठाहरु खाली हुँदा यहीँ रहेका व्यक्ति, कार्यालय भने रोजीरोजी नयाँ स्थानमा बस्न पाएको अनुभव अनामनगर क्षेत्रमा घरबहालको काम गर्दै आएको संस्था भोलेनाथ ग्रुप प्रा.लि.का सञ्चालक आशिष रेग्मी सुनाउँछन।

उनी भन्छन्, ‘पहिले मान्छेहरु अध्यारो, पानी नआउने भएपनि जसोतसो गरेर बस्थे। घरबेटीको खराब ब्यवहार, बढी भाडा असुले पनि बस्नुपर्ने बाध्यता हुन्थ्यो। तर अहिले भने उनीहरुले राम्रा कोठा पाएका छन। अध्याँरा र नराम्रा कोठाहरु खाली भइरहेका छन।’

यसअघि बहाल खोज्नेहरु सिधैँ घरबेटीको सम्पर्कमा आउने गर्थे। तर अहिले कोरोनाका कारण घरबेटी र मानिसहरुको सोझै सम्पर्क नहुने भएकाले कोठा बहाल लगाइदिन घरबेटीको दैनिक फोन आउने गरेको रेग्मी बताउँछन।

‘पहिले एउटा कोठा खाली भएको भनी सामाजिक सञ्जालमा पोस्ट गर्नासाथ तत्काल फोन आउन सुरु गथ्र्यो। एक दुई दिनमा लागिसक्थ्यो,’ रेग्मीले भने, ‘अहिले एउटा कोठा लाग्न हप्ता दिनसम्म पनि लाग्छ। त्यो पनि मानिसहरुले छानी छानी लिने चलन बढ्दो छ।’

महाराजगञ्जदेखि कलंकी क्षेत्रमा कोठा भाडा लिने दिने काम गर्दै आएका फिक्स होम सोलुसनका सञ्चालक जनक भण्डारी पहिले खाली घर पाउनै मुस्किल पर्ने भएपनि अहिले आफ्नो सम्पर्कमा २०–२५ वटा फ्ल्याट खाली रहेको बताउँछन।

‘पहिले ३० देखि ४० सम्म फोन आउथ्यो। अहिले एकदमै थोरै फोन आउँछ,’ उनले भने, ‘अहिले मानिसहरुको आम्दानी घटेकाले पनि फ्ल्याट छोडेर कोठामा बस्न थालेका छन। त्यसैले पनि घरहरु, फ्ल्याटहरु धेरै खाली छन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .