ad ad

समाज


किन फर्केनन् नेपाली परियोजनामा काम गर्न चिनियाँ प्राविधिक?

किन फर्केनन् नेपाली परियोजनामा काम गर्न चिनियाँ प्राविधिक?

चेतनाथ आचार्य
असोज १४, २०७७ बुधबार १२:४१,

कोभिड १९ महामारी नभएको भए भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसक्ने थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति धेरै हुने थियो। मेलम्चीको खानेपानी काठमाडौँमा झरिसक्थ्यो। नेपालका थुप्रै सानाठूला जलविद्युत परियोजना सम्पन्न भइसक्ने थियो। तर, यी परियोजनाको अवस्थामा गतवर्षभन्दा खासै प्रगति हुन सकेको छैन। किनभने यी सबै परियोजनामा चिनियाँ कम्पनीले काम गरिरहेका छन्। र, कोभिड १९ का कारण चिनियाँ दक्ष जनशक्तिसँगै विभिन्न प्राविधिक सामग्री पनि चीनमै थुनिएका छन्।

नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी र सहयोगले मेरुदण्डको काम गरेको छ। नेपालका ठूला परियोजनाहरु चिनियाँ कम्पनीले निर्माण गरिरहेका छन्। कोभिड १९ महामारी फैलिनुअगाडि नेपालमा सानाठूला परियोजनामा हजारौँ चिनियाँ प्राविधिक कार्यरत थिए। जनवरी महिनाको अन्ततिर वसन्त चाड मनाउन स्वदेश फर्किएका उनीहरु महामारीका कारण नेपाल जान पाएका छैनन्।

गत अप्रिलसम्म चीनमा महामारी थियो। त्यसबेला चिनियाँ प्राविधिकहरु नेपाल फर्कन सकेनन्। जब चीनमा महामारी नियन्त्रणमा आउन थाल्यो, तब नेपालमा फैलिन थाल्यो। फलतः नेपालले अन्तर्राष्ट्रिय उडान स्थगित गरिदियो। अहिले अन्तर्राष्ट्रिय उडान त खुलिसकेको छ तर चिनियाँहरु नेपालका परियोजनामा काममा फर्कनका लागि अझै हच्किरहेका छन्।

आखिर किन तयार छैनन् चिनियाँहरु नेपाल जान?यसका पछाडि मूलतस् दुई कारण छन्।

पहिलो, चिनियाँहरु नेपालको स्वास्थ्य सेवासँग विश्वस्त छैनन्। नेपाल गएपछि कोभिड संक्रमित हुने डर उनीहरुलाई छ।

केही समय अगाडि फरक समयमा काठमाडौँबाट चीन फर्किएका चारजना चिनियाँहरुको काठमाडौँमा पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो। तर उनीहरु चीन आएपछिको पीसीआर पोजेटिभ देखियो। त्यसैले थुप्रै चिनियाँ नेपालमा गरिने परीक्षणमाथि नै अविश्वास गर्छन्।

दोस्रो, नेपाल जान पहिलेजस्तो सहज छैन। कोभिड १९ महामारीपछि नेपालले सबै विदेशीलाई अराइभल भिसा दिन बन्द गरेको छ। यतिबेला बेइजिङस्थित नेपाली दूतावास र ल्हासा, क्वाङचौ र हङकङमा रहेका महावाणिज्य दूतावासले पर्यटकीय भिसा पनि दिँदैनन्।

नेपालमा काम गर्न जाने चिनियाँका लागि निकै झन्झटिलो प्रक्रिया छ। सम्बन्धित कम्पनीले नेपाल सरकारसँग आवेदन दिनुपर्छ। नेपालको गृह मन्त्रालयको स्वीकृति पाएपछि बल्ल चीनमा रहेका नेपाली नियोगले भिसा जारी गर्न सक्छन्। पहिले जस्तो हातले लेखेर भिसा आवेदन गर्न पाइँदैन। अनलाइनमा गएर भिसाको फारम भर्नुपर्छ। नेपाल सरकारले बनाएको अनलाइन फारम भर्ने वेबसाइट कतिपय अवस्थामा चीनमा खुल्दै नखुल्ने गरेको चिनियाँहरुले गुनासो गरेका छन्। तसर्थ काममा नेपाल फर्कन चाहने चिनियाँलाई पनि झन्झटिलो भिसा प्रक्रियाले असहज बनाएको छ।

कोभिडका कारण स्वदेश फर्किएका हजारौँ चिनियाँमध्ये उल्लिखित प्रकृया पुर्‍याएर भिसा आवेदन गर्नेहरुको संख्या अहिलेसम्म जम्मा दुई सय मात्र रहेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नेपालखबरलाई बताए। तीमध्ये ४० जनालाई दूतावासले भिसा प्रदान गरिसकेको छ भने बाँकी ६० जनाको भिसा प्रकृयामा रहेको लम्सालले जानकारी दिए।

चिनियाँ कामदारलाई नेपालमा बोलाउँदा सम्बन्धित कम्पनीले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने लगायतका सर्तहरु पूरा गर्नुपर्ने हुन्छ। कम्पनीले सबै व्यवहोरा पूरा गरे पनि चिनियाँहरु नेपाल जाने इच्छुक देखिँदैनन्। गृह मन्त्रालयले दुई सय चिनियाँलाई नेपाल आउन स्वीकृति दिए पनि ४० जनाले मात्र भिसा आवेदन दिएबाट यो पुष्टि हुन्छ।

ताप्लेजुङको सानिमा हाइड्रोमा २ सय चिनियाँहरु कार्यरत थिए। उनीहरु कोभिड महामारीमा पनि काम गरिरहेका थिए। चीनसँग अन्तर्राष्ट्रिय उडान खुलेपछि १८० जति चीन फर्किसकेका छन्। होङ्सी सिमेन्टमा काम गर्ने दुईसयभन्दा बढी चिनियाँ फर्किसकेका छन्।

पोखरा र लुम्बिनीका विमानस्थल निर्माणमा चाहिने चिनियाँ प्राविधिकहरु अझै नेपाल जान तयार छैनन्। त्यहाँ प्रयोग हुने सामग्रीहरु पनि चीनमै थुनिएका छन्। विभिन्न जलविद्युत क्षेत्रमा काम गर्ने चिनियाँ प्राविधिक नेपाल नजाँदा काम अधकल्चा भएका छन्।

चिनियाँ कामदार र प्राविधिक नेपाली परियोजनामा नफर्किंदा समयमा काम नसक्ने चिन्ता चिनियाँ कम्पनीहरुलाई छ। यसले ती कम्पनीलाई आर्थिक क्षतिसँगै साखमा पनि धक्का लाग्छ।

तर ठूलो क्षति नेपाललाई हुने गर्छ। विकास निर्माणका काम ढिलो हुँदा र सम्पन्न हुने समय थपेकोथप्यै गर्दा प्रत्यक्ष प्रभाव सर्वसाधारणलाई पर्ने गर्छ। उदाहरणका लागि मेलम्ची खानेपानीलाई लिन सकिन्छ। सरकारी विकास बजेटको खर्च प्रवृत्ति, राजस्व संकलन, नयाँ परियोजनाको थालनी, अन्तर्राष्ट्रिय ऋण दातासँग नेपालको छवि, नयाँ रोजगारी सिर्जना, आर्थिक वृद्धि, विकास सूचकाङ्क आदि सबै कुरामा नेपालले क्षति बेहोर्नुपर्ने हुन्छ। समग्र रुपमा नेपाललाई ठूलो क्षति पुगेको छ। तथापि स्वदेश फर्किएका चिनियाँहरु नेपालमा काममा फर्किन नसकेको विषयमा नेपालमा खासै चर्चा भएको देखिँदैन।

कठिन अवस्थामा पनि केही परियोजना भने समयअगाडि नै सम्पन्न भएका छन्। दरबार हाइस्कुलको निर्माण कार्य तोकिएको समयभन्दा अगाडि सम्पन्न भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग विस्तार पनि समयभन्दा अगाडि नै सकिएको छ। यी दुवै परियोजना चिनियाँ कम्पनीले सम्पन्न गरेका हुन्। तसर्थ नेपाल सरकारले चीन सरकारसँग गम्भीर कुरा गरेर सहज रुपमा चिनियाँ कामदारलाई नेपाल भित्र्याउन पहल गर्नु उचित हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .