समाज


सिन्धुपाल्चोकमा बाढी पहिरो : ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोकमा बाढी पहिरो : ७४ को मृत्यु, ४१ अझै बेपत्ता

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १:३०,

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ।

यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।

आइतबार बाह्रबिसे नगरपालिका-७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ बेपत्ता नै छन्। असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका १२ र असार ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन्।

यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो।

बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो।

गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्यो। यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो।

यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन्।

सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरु भएयता ७४ जनाले ज्यान गुमाएका छन् । पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ।

पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन्।

पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले जानकारी दिए।

यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको छ।

जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार र पहिरोपीडितलाई १० लाख नौ हजार रुपैयाँ राहत वितरणसमेत गरिसकिएको प्रजिअ ढकालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .