ad ad

समाज


कक्षा १२ को परीक्षा : विद्यार्थीकाे सहजताकाे लागि हुँदैछ यस्ताे व्यवस्था

कक्षा १२ को परीक्षा : विद्यार्थीकाे सहजताकाे लागि हुँदैछ यस्ताे व्यवस्था

नेपालखबर
भदौ २८, २०७७ आइतबार ३:२,

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने गरी सरकारले तयारी अघि बढाएको छ।

गत वैशाखमै संचालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरस संक्रमणको कारण अझै हुन सकेको छैन।

राष्ट्रिय परीक्षा बोर्डले सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीले पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने गरी तयारी अघि बढाइएको हो।

आफूले अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुगेकोले घर पायकको विद्यालयलाई विकल्पको रुपमा अघि सारिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए।

‘कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरेका छौँ,’ उनले भने।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन सुरु गरेको छ।

सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्य सुरु गरिएको पौडेलको भनाई छ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोबास गरिरहेका छन् भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने उनले बताए। परीक्षाको उत्तरपुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनोट लगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने अवस्था छ।

बोर्डले परीक्षाका विभिन्न विकल्पबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिने स्पष्ट गर्दै त्यसका लागि सरकारसँग स्वीकृतिको समेत माग गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जुनसुकै तवरबाट स्वीकृति दिए पनि परीक्षा गर्न सक्ने बोर्डले आन्तरिक तयारी गरेको पौडेलले बताए।

बोर्डले कक्षा १२ को स्थगित परीक्षा ठाउँ अनुसार चरणबद्ध रूपमा गर्न सकिने प्रस्ताव समेत अघि सारेको छ। यस विषयमा सरकारले जस्तो खालको सहमति र स्वीकृति दिन्छ सोही अनुसार आफूहरू अगाडि बढ्ने पौडेलले बताए।

मुलुकका विभिन्न भागमा चरणबद्ध रूपमा परीक्षा लिन सकिने अवस्था भए पनि परीक्षा लिने तर नतिजा भने एकै पटक प्रकाशित गर्ने योजना बोर्डको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .