समाज


कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ७:३८,

मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ।

नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना संक्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण रोक्न पीसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखेको उनले जानकारी दिए। अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उनले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिए। राबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुने जानकारी दिँदै उनले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने जानकारी दिए।

नगरपालिकाले आफ्नै पीसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ। भदौ महिनाको २४ गतेसम्ममा दुई हजार ११२ को परीक्षण गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई संक्रमण भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको जानकारी दिए।

नगरपालिकाले भयावह अवस्था आउन नदिन कन्ट्याक्ट टे«सिङलाई व्यापक बनाएको उल्लेख गर्दै उनले भने, ‘परीक्षणको दायरा बढाएकाले यहाँ बढी संक्रमित देखिएको हो, हामीले संक्रमितको सहज व्यवस्थापन गरेका छौँ, हामी जनप्रतिनिधिसहितको टोली संक्रमित परिवारको घरघरमा पुगेर बाहिर बसेर उनीहरुको समस्या बुझ्ने, समस्या भए समाधान गर्ने तथा मनोपरामर्श दिएर हौसला प्रदान गरेका छौँ।’

नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको जानकारी दिँदै उनले मिर्गौलाका बिरामीलाई लक्ष्य गर्दै एक शय्याको डायलाइसिस र मेसिन तयारी अवस्थामा राखेको बताए। नगरपालिकाले अस्पताल नजिकैको एक गेस्टहाउसमा बनाएको क्वारेन्टिनमा गत चैतदेखि १०० भन्दा बढी शंकास्पदलाई राखिसकेको छ।

नगरपालिकाले अहिलेसम्म सरकारसँग पीसीआर परीक्षणको किट लिएको छैन भने नगरपालिका आफैँले खरिद एवं व्यवस्थापन गरेको छ। हालै मात्र पाँच लाख बराबरको पाँच हजार थान पीसीआर किट किनेर परीक्षणलाई अझ तीव्रता दिएको छ। नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षणलाई उच्च प्राथमिकतामा राखेको नगरपालिकाले हिजो २४ गते मात्रै मध्यपुरथिमि प्रहरी वृत्तका १३० प्रहरीको निःशुल्क पीसीआर परीक्षण गरेको थियो।

नगर प्रमुख श्रेष्ठले भने, ‘बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको ५० शय्या क्षमताको भवनलाई आइसोलेसन बनाउने निर्णय भएको छ, यसमा मध्यपुरका बासिन्दालाई प्राथमिकता दिएर संक्रमित राख्ने भएका छौँ, यसको खर्च नगरपालिका आफैँले व्यहोर्ने छ।’

उनले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना संक्रमितका परिवार, उनीहरुको कन्ट्याक्ट टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब संकलन र परीक्षणलाई तीव्र पारेको छ। नगरपालिकाले आफ्नै ल्याबमा स्वाब सङ्कलन गरेपछि आपत्कालीन अवस्थाको १२ घण्टाभित्र र अरूको २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad