कोरोनाभाइरसको संक्रमण रोकथाम तथा उपचारमा द्रुतगतिमा काम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले ‘कोभिड–१९ अप्रेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ।
महानगरका जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा सोमबारबाट स्वास्थ्यकर्मीको टोलीसहितको अप्रेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।
राष्ट्रिय सभागृहमा कार्यालय रहने सेन्टरले संक्रमितको पहिचान, उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्ने, परीक्षण गर्ने र वडामा रहेका स्वास्थ्यकर्मीसँग समन्वयन गरी द्रुतगतिमा कार्य गर्ने कुँवरले बताए। उनले अप्रेसन सेन्टर स्थापनाले कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको संख्या बढ्ने विश्वास व्यक्त गरे।
अप्रेसन सेन्टरले संक्रमित बढी रहेको स्थानमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने तथा परिचालन गर्ने काम पनि गर्नेछ। सेन्टरबाट सोमबारमात्रै बढी जोखिम देखिएका क्षेत्रमा २० जना कर्मचारीहरु खटाइएको कुँवरले बताए।
कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई यसै सेन्टरबाट परीक्षणको व्यवस्था मिलाइने, होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने तथा उपचारको आवश्यकताहुनेलाई अस्पताल लैजानेसम्मको समन्वयन सेन्टरले गर्नेछ।
महानगरको तथ्यांकअनुसार हालसम्म ६ हजार ४ सय ४४ जनाको पीसीआर गरिएको छ। संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएकाले अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ गर्दै संक्रमित पहिचान गर्नुपर्ने भएकाले अप्रेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।
प्रतिक्रिया