नेपाल पत्रकार महासंघले महासंघका काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्वाददाता राजाराम कार्कीमाथि प्रहरी स्कुलका शिक्षकले कुटपिट गरेको भन्दै आपत्ति जनाएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले पत्रकार कार्कीमाथि कुटपिट गरी घाइते बनाएको महासंघले जनाएको छ।
महासंघ काभ्रे शाखाका अनुसार आज विहान ९ः३० बजे बनेपा नगरपालिका–८ बसपार्क नजिकैको हार्डवेयर पसलमा घरायसी सामान खरिद गर्ने क्रममा निज उद्धव कार्कीले पुरोना हिसाव किताव गर्नु छ भन्दै पत्रकार कार्कीमाथि सोही पसलमा रहेका सामग्रीले एक्कासि टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए।
‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु आफैंमा निन्दनीय र प्रेसविरोधी काम हो’ महासंघले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ पत्रकारलाई त्रसित बनाउने अपराधिक कार्यमा संलग्न कार्कीमाथि कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया