ललितपुरको पुल्चोकमा आज रातो मत्स्येन्द्रनाथको रथ तानिने भएपछि ललितपुरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
रथ रहेको क्षेत्रमा यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको प्रशासनले सुरक्षाकर्मीको संख्या बढाएको छ।
अल्का अस्पतालअघि पुल्चोक पूलसम्म सडक बन्द गरिएको छ। त्यस क्षेत्रमा बाक्लो रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

‘उपत्यकाका अन्य ठाउँमा पनि यसअघि देखि नै निषेधाज्ञा जारी छ, आज थप कडाइ गरिएको छ, रथयात्रा सांकेतिक मात्रै हुने भएकाले अहिले त्यस क्षेत्रको अवस्था सामान्य छ, पर्याप्त जनशक्ति खटाएका छौं,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने।
निषेधित क्षेत्रमा हिँडडुलमा कडाइ गरिएको छ भने चक्रपथबाट शहरभित्र प्रवेश गर्ने सडकमा समेत बिहानैदेखि थप कडाइ गरिएको छ।
नेवार समुदायका विभिन्न संघसंस्थाले परिचालन गर्ने स्वयम्सेवकले आइतबार ३ बजेबाट रथ तान्नेछन्। यसका लागि प्रशासनसँग सहमति भइसकेको छ।
कोरोना संक्रमणकोे जोखिमका कारण यसवर्ष पहिले जसरी नगर परिक्रमा गराइने छैन। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारेर त्यहीँ रथको पूजा गरिने छ।
यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए।
त्यस क्रममा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए। प्रहरीमाथि कुटपिट गर्ने स्थानीयलाई पक्राउ गरेर शान्तिविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको छ।

प्रतिक्रिया