ad ad

समाज


कोरोनाको कहरः लभ्लीहिलमा देखिन छोडे प्रेमजोडी

कोरोनाको कहरः लभ्लीहिलमा देखिन छोडे प्रेमजोडी

नेपालखबर
भदौ २०, २०७७ शनिबार १०:२७,

हरिया बगैंचा, रुखका बुट्यानहरु, हावामा बयेली खेलिरहेका फूलहरु, भुर्र—भुर्र उडिरहेका चराहरु अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) हिजोआज सुनसान छ।

आसपासमा देखिने हिम ऋंखला, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ। सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ। प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौंको सङ्ख्यामा यहाँ आउने प्रेमजोडीहरु पछिल्लो समय देखिन छोडेका छन्।

कोरोना भाइरस (कोभिड— १९) संक्रमणका त्रासडरले प्रेमजोडीहरु यहाँ आउन छोडेपछि लभ्लीहिल अहिले सुनसान देखिएको हो।

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीहरु पछिल्लो समय कोरोना सङ्क्रमणका डरले यहाँ आउनै छोडेका छन्। लकडाउन हुनुपूर्वको समयमा दैनिक सयौंको संख्यामा भीडभाड हुने यो ठाउँ अहिले सुनसान देखिएको छ। पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको छ।

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा विकसित भएको छ। विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ, लभ्लीहिल।
बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ। खबराका स्थानीय चन्द्रबहादुर कार्कीले पहिले दैनिक सयौंको सङ्ख्यामा मानिसहरु घुम्न आउने गरेको भए पनि अहिले लभ्लीहिलमा मानिसहरु नै आउन छाडेको बताए। लकडाउनले गर्दा पर्यटकीय क्षेत्रको भ्रमण तथा कृषिजन्य उत्पादनको समेत बजारीकरणमा समस्या आएको उनको भनाइ छ।

लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ। यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत यहाँबाट अवलोकन गर्न पाइन्छ। बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ वस्तीको समेत सम्भावना रहेको छ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन्। लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरु रमाउने स्थलका रुपमा स्थापित गर्न सकेमा यहाँको पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना रहेको उनीहरुको भनाइ छ।

यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .