ad ad

समाज


यूएईमा ‘कोरोना भ्याक्सिन’ परीक्षण गर्ने यमबहादुर भन्छन्ः सफल भयो भने धेरैको ज्यान बच्छ (भिडियो)

यूएईमा ‘कोरोना भ्याक्सिन’ परीक्षण गर्ने यमबहादुर भन्छन्ः सफल भयो भने धेरैको ज्यान बच्छ (भिडियो)

उजिर कार्की
भदौ २०, २०७७ शनिबार ६:१५,

स्याङ्जाका यमबहादुर पुरकोटी ६ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत छन्। त्यहाँको एक सप्लायर्स कम्पनीमा काम गर्ने उनले यतिबेला कोरोना विरुद्धको खोप परीक्षणको रुपमा लगाइरहेका छन्।

यूएई सरकारले आफ्ना नागरिकसँगै प्रवासी श्रमिकमा पनि चीनले उत्पादन गरेको भ्याक्सिन परीक्षण गरिरहेको छ। सप्लायर्स कम्पनीमा काम गर्ने भएकाले उनी सामान लिएर विभिन्न ठाउँमा पुग्छन्।

कोरोनाविरुद्धको खोप परीक्षण भइरहेको थाहा पाएपछि यमबहादुर आफैं परीक्षण भइरहेको स्थानमा गए। १८ दिन पहिले पहिलो चरणको खोप लगाएका उनले अब दुई दिनपछि दोश्रो चरणको खोप लगाउँदैछन्।

कोरोनाविरुद्धको खोप परीक्षण गर्ने पहिलो लटका नेपाली यमबहादुरको स्वास्थ्यमा अहिलेसम्म कुनै समस्या देखिएको छैन। खोप लगाउनु पहिले उनको स्वास्थ्य पूर्णरुपमा परीक्षण गरिएको थियो।

Yambahadur UAE2

‘स्वस्थ व्यक्तिमा मात्रै खोप परीक्षण गरिँदो रहेछ’, यमबहादुरले नेपालखबरसँगको लाइभ कुराकानीमा शुक्रबार भने।

पहिलो चरणको खोप सफल भएपछि दोश्रो चरणको खोप लगाउन यमबहादुरलाई बोलाइएको छ।

यूएईस्थित एक्टिभेसन सेन्टरमा खोप परीक्षण भइरहेको छ। कुनै पनि व्यक्तिलाई खोप परीक्षण गर्नु पहिले त्यहाँ केही शर्त छन्। जस्तो कि तीन महिनासम्म यूएई छाड्न नपाउने, दैनिक काम नगर्ने लगायतका नियम मान्न मन्जुर भएपछि मात्रै परीक्षण सुरु हुन्छ।

यस्तै परीक्षण खोप लगाउनुअघि भोलि ‘स्वास्थ्य तलमाथि भएमा आफैं जिम्मेवार हुनेछु’ भनेर हस्ताक्षर गराउने गरिएको यमबहादुरले बताए। अन्य सामान्य बिरामी भएको र कुनै औषधि सेवन गरिरहेको व्यक्तिलाई पनि परीक्षण गरिँदैन।

खोप लगाएको व्यक्तिलाई चिकित्सकले दैनिक फोन गर्छन् र त्यस्ता व्यक्तिको स्वास्थ्य अवस्था बुझ्छन्। यस्तै स्वास्थ्य अवस्था बिग्रिए तत्काल फोन गर्न पनि सुझाउँछन्।

यूएईमै रहेका कतिपय नेपालीले भने खोप परीक्षण गर्न नमानेको यमबहादुरले बताए।

‘मेरा कतिपय साथीहरुलाई परीक्षण गराउन भन्दा मानेनन्। अहिलेसम्म कोरोनाको औषधि निस्केको छैन, खोप लगायो भने पछि अप्ठेरो पर्न सक्छ भनेर मानेनन्’, यमबहादुरले भने, ‘केही साथीहरुले भने परीक्षण गराउनु भएको छ।’

त्यसो त परीक्षणकै क्रममा रहेको खोप लगाउन जोखिम हुन सक्छ भन्ने कुरा उनलाई पनि थाहा नभएको होइन। तर उनले ‘एक न एकदिन मर्नु नै छ’ भन्ने ठानेर आँट गरे।

‘नराम्रो भए म एउटालाई असर गर्ने हो तर सफल भयो भने सयौंको ज्यान बच्छ भनेर पनि म परीक्षण गराउन तयार भएँ’, यमबहादुरले नेपालखबरसँग भने।

उनको यो निर्णयबाट परिवार भने खुसी छैनन्।

आफूमा परीक्षण सुरु भइसकेपछि फोनमा सुनाउँदा दाजु र श्रीमतीले उनलाई प्रश्न गरे, ‘तिमिले नै परीक्षण गराउनु पर्ने कारण के हो? भोलि केही समस्या भयो भने के गर्ने?’

तर उनले केही हुँदैन भन्दै परिवारलाई सम्झाए र आफ्नो निर्णयमा अडिग रहे।

युएई सरकारले नेपाली सँगै अन्य देशका प्रवासीमा पनि खोप परीक्षण गराइरहेको छ। तर परीक्षण गराउने वा नगराउने व्यक्तिको स्वइच्छा अनुसार हुन्छ।

खोप लगाइसकेपछि ३० मिनेटसम्म एउटा शान्त वातावरण भएको कोठामा चिकित्सकको निगरानीमा राखिन्छ। ३० मिनेटसम्म पनि स्वास्थ्यमा कुनै असर नदेखिएपछि जान सक्ने चिकित्सकले सुझाव दिन्छन्।

दैनिक रिपोर्ट राख्न फाइल र तापक्रम नाप्ने उपकरण दिएर पठाउँछन्। केही भए आफैं फोन गर्न र नभए प्रयोगशालाबाटै फोन गरेर स्वास्थ्य बारे जानकारी लिन्छन्।

परीक्षण खोप लगाएर निवासमा फर्किएका यमबहादुरलाई आफ्नो स्वास्थ्य कमजोर भएको हालसम्म कुनै महशुस छैन। बरु उनी यो खोप सफल हुनेमा ढुक्क छन्।

खोप सफल भएमा यसअघि कोरोना परीक्षण गर्दा जस्तै टोलटोलमा गएर नेपालीलाई पनि लगाइने विश्वास उनलाई छ।

उनको रोजगारी यूएईमा राम्रै छ। त्यहि भएर पनि उनी तत्काल नेपाल फर्किने सोचमा छैनन्। त्यसमा पनि देशको अवस्थाले उनलाई वितृष्णा छ। नेपाल फर्किएर तत्काल केही गर्न सक्ने वातावरण उनले देखेका छैनन्।

नेपालमा कोरोना संक्रमितमाथि भइरहेको दुव्र्यवहार उनलाई पनि मन परेको छैन। यमबहादुरका अनुसार युएईमा कोरोना पुष्टि भइसकेपछि पनि धृणा गर्दैनन्। न त्यहाँ नेपालमा जसरी संक्रमण देखिएका व्यक्तिलाई डेराबाट निकालिन्छ नत घरमा झण्डा गाडिन्छ।

नेपालमा अहिलेसम्म कुनै पनि देशले बनाएका भ्याक्सिन परीक्षण गरिएको छैन। युएईमै गरिएको चीनको सिनो भ्याक्सले तयार गरेको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने तयारी भइरहेको छ।

होङ्सी सिमेन्टका ५ सय कर्मचारीमा पहिलो चरणमा यो भ्याक्सिन परीक्षण हुनेछ। यस्तै अक्सफोर्ड र रसियाले तयार गरेका भ्याक्सिन पनि परीक्षण गर्न प्रस्ताव गरिएको छ।

यमबहादुर पुरकोटीसँग शुक्रबार नेपालखबरले गरेको लाइभ भिडियो कुराकानीः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .