रातो मछिन्द्रनाथको रथ यात्रा सुरु गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ललितपुरको पुल्चोक क्षेत्र तनावग्रस्त बनेको छ।
स्थानीयले बिहान ११ बजेदेखि नै रथ तान्न सुरु गरे पनि प्रहरीले अवरोध गरिरहेको थियो। प्रहरीको आग्रह र अवरोधलाई छल्दै रथलाई तानेर पुल्चोकको मुल सडकमा पुर्याएपछि स्थिति तनावग्रस्त बनेको हो।
झडपकै क्रममा स्थानीयले प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ भने पानीको फोहोरा पनि हानेको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले प्रहरीले सम्झाई बुझाई गर्न खोजिरहेको र स्थानीयले अटेर गरेको बताए।
निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत विना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले आग्रह गरेको थियो।
गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोरोनाको महामारी रोक्नका लागि सरकारले लागू गरेको लकडाउनका कारण रोकिएको थियो। अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेका हुन्।
उपत्यकामा थपिएकाे एक साता निषेधाज्ञामा के गर्न पाउने, के नपाउने (सूची)
प्रतिक्रिया