ad ad

समाज


रुपन्देहीमा ‘भर्चुअल श्राद्ध’

रुपन्देहीमा ‘भर्चुअल श्राद्ध’

प्रकाश न्यौपाने
भदौ १७, २०७७ बुधबार १०:३५,

आज (बुधबार) बाट सोह्र श्राद्ध सुरु भएको छ। कोरोना भाइरसको महामारीले गर्दा स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गरेकाले स्रोह श्राद्ध भने प्रभावित बनेको छ। रुपन्देहीमा लकडाउन भएकाले यहाँका केही स्थानीय तहले पुरोहितहरुलाई घरघरमा नगई भर्चुअल श्राद्ध गर्न आग्रह गरेका थिए।

कतिपय ठाउँमा भर्चुअल श्राद्ध समेत गरिएको छ। अधिकांश पुरोहितहरु घरमै गएर श्राद्ध गरे पनि केही पुरोहितले भने भर्चुअल श्राद्ध गरेर प्रविधिको भरपुर उपयोग गरे।

‘नजिकका आफन्तको घरबाहेक अन्य ठाउँमा मैले भर्चुअल श्राद्ध गरेँ, प्रविधिको उपयोग गरी विधि प्रक्रिया सिकाएँ र सोहीअनुसार पुजापाठ गरियो। यो भर्चुअल माध्यम पनि निकै राम्रो र प्रभावकारी लाग्यो’, सैनामैनाका पण्डित कृष्णप्रसाद पोखरेलले भने।

भर्चुअल श्राद्ध गरिएका ठाउँमा दानदक्षिणा पछि ल्याउने उनले बताए।

‘भर्चुअल श्राद्ध गर्दा संक्रमणको जोखिमबाट बचिने, आफू र श्राद्ध गर्ने परिवारलाई समेत सहज हुने रहेछ। प्रविधिलाई फलो गरियो भने सफल हुने मेरो अनुभव रह्यो’ पोखरेलले भने।

तिलोत्तमाका पुरोहित ताराप्रसाद न्यौपानेले सम्भव भएका ठाउँमा आफूले पनि भर्चुअल श्राद्ध गरेको जनाए।

उनले भने, ‘ससुरालीमा म आफैँ गएर श्राद्ध गरेँ, अन्य ठाउँमा फोनबाट आवश्यक सामाग्री जुटाउन लगाएँ र भर्चुअल श्राद्ध गरिदिएको छु’, न्यौपानेले भने।

तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले पुरोहितलाई संक्रमणको जोखिमलाई ध्यानमा राखेर भर्चुअल श्राद्ध गर्न आग्रह गरेका थिए।

सैनामैनाका अधिकांश पुरोहितले भर्चुअल श्राद्ध गरेका छन्। तिलोत्तमामा भने केहीले गरे पनि धेरैले भर्चुअल श्राद्ध गरेनन्। जिल्लाका अन्य ठाउँका पुरोहितले पनि भर्चुअललाई श्राद्धलाई फलो गरेनन्।

‘श्राद्धमा ब्राह्मणको मन्त्र र वचनले पितृ तृप्ति हुने हुँदा ब्राह्मणको मन्त्र र वचन नै प्रधान देखिन्छ। भर्चुअल श्राद्धमा ब्राह्मण मात्रै उपस्थित नहुने हो वचन र मन्त्र उनी हुन्छ। हामी सबै सुरक्षित हुनलाई भर्चुअल श्राद्ध गर्नु राम्रो मानिन्छ’, आचार्य विष्णुप्रसाद ज्ञवालीले भने।

हिन्दु धर्मावलम्बीहरुले प्रतिपदादेखि औंशीसम्म १६ दिन गर्ने श्राद्ध नै सोह्र श्राद्ध हो। लौकिक भाषामा सोह्र श्राद्ध भनिए पनि यसलाई वैदिक भाषामा पार्वण पनि भनिन्छ। श्राद्धमा पितृका लागि तर्पण, कुसमा पितृ ब्राह्मण स्थापना, हस्तर्घर, भुस्वामी, सिधा, पिण्डदान, विक्र पुजन, पिण्ड पुजन, आशिर्वाद ग्रहण, दक्षिणा र पितृप्रति आत्मसमर्पण लगायतका विधि तथा पद्दति गरिन्छ।

‘श्राद्ध गर्ने व्यक्तिलाई यी सबै प्रक्रिया सिकाएपछि भर्चुअलबाट पनि सम्भव हुने रहेछ’, न्यौपानेले भने।

परिस्थितिका कारणले केही सामाग्री र विधिको अभाव तथा कमी भए तापनि पितृप्रतिको आस्था, श्रद्धा र विश्वासमा कमी आउन दिन नहुने विज्ञहरुको मत छ। दिवंगत भएका आफ्ना पितृलाई सन्तानले श्राद्धपूर्वक स्मरण गर्नु, सम्मान प्रकट गर्नु र उनीहरुका नाममा गक्षअनुसारको दान, पिण्डदान गर्नु नै श्राद्ध हो। सन्तानले वार्षिकरुपमा पितृलाई सम्झनु र उनीहरुको योगदानलाई स्मरण गर्ने महान दिन भएकाले श्राद्ध गर्नुपर्ने आचार्य ज्ञवाली बताउँछन्।

shradda11

भन्छन्, ‘श्राद्ध नहुने घरमा पितृको कृपा हुँदैन, पितृकाे कृपा नभएको घरमा कुनै देवताको बास, आशिर्वाद प्राप्त हुन्न भन्ने कुरा शास्त्रको वचन रहेकाले श्राद्ध गर्नुपर्छ।’

‘प्रविधिको विकाससँगै पुरोहितहरुले पनि त्यसको फलो गर्न आवश्यक देखिन्छ। धर्म संस्कृतिलाई जोगाई राख्न र आफ्ना पितृप्रति श्रद्धाभाव प्रकट गर्न पाउने अधिकारबाट कसैलाई पनि बञ्चित गर्न हुँदैन। तथापी मुलुक कोरोना भाइरसका कारण आक्रान्त बनेकाले यस्तो अवस्थामा प्रविविधको प्रयोग गरी भर्चुअल श्राद्ध गर्नु उत्तम विकल्प हो’ सैनामैना नगरपालिका कोलोनीका नरध्वज कार्कीले नातीको सहयोगले आफूले भर्चुअल श्राद्ध गरेको बताए।

‘मैले सबै सामान तयारी गरेको थिएँ, नातीले पण्डितजीलाई भिडियो कल गर्यो, अनि उहाँले भनेअनुसार पुजा गरेँ’, उनले भने, ‘निकै राम्रो लाग्यो, सुविधा भयो। सबै विधि पुरा गरेर श्राद्ध गरेँ। आउँदा दिनमा पनि यस्तो प्रविधिको फलो गर्छु।’

महामारीका बेला भएकाले इन्टरनेटको पहुँचमा हुनेहरुले आफ्नो र अरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरी भर्चुअल श्राद्धलाई प्राथमिकता दिएमा जोखिमबाट बच्न सकिने चिकित्सकहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .